स्वेज नहरमा फसेको जहाजको दाबी धेरै भएको बीमकको जवाफ

2021-05-11
स्वेज नहरमा फसेको जहाजको दाबी धेरै भएको बीमकको जवाफ

काठमाण्डौ । स्वेज नहरमा फसेको जहाजको बीमक ‘युके क्लब’ ले इजिप्टका अधिकारीहरुले घटाएर प्रस्तुत गरेको दाबी अझै बढी भएको जनाएको छ। जहाजलाई मुक्त गर्न तथा जहाजका कारण भएको नोक्सानका लागि इजिप्टका अधिकारीहरुले घटाएर प्रस्तुत गरेको ६०० मिलियन अमेरिकी डलरको दाबी अझै पनि बढी भएको कम्पनीले जनाएको हो। 

यसअघि इजिप्टका अधिकारीहरुले पेश गरेको दाबी बढी भएको भन्दै यसमा पुनरावलोकन गर्न युके क्लबले आग्रह गरेको थियो। युके क्लबको आग्रहपछि आफ्नो यसअघिको ९१६ मिलियन बराबरको दाबीलाई पुनरावलोकन गर्दै स्वेज नहर प्राधिकरणले घटाएर ६०० मिलियन कायम गरेको थियो। प्राधिकरणले अदालत बाहिर नै यस मामिललाई सुल्झाउनका लागि यस्तो गरेको थियो। 

विश्वको सबैभन्दा लामो कन्टेनर जहाजमध्ये एक ‘द इभर ग्रिन ’ नामक पानी जहाज गत मार्च २३ गतेदेखि ६ दिनसम्म स्वेज नहरमा फसेको थियो। जसका कारण नहर भएर आँउजाँउ गर्ने दुवै तर्फको ट्राफिक बन्द भएको थियो। 

स्वेज नहर प्राधिकरणले जहाजको जापानी स्वामित्वकर्ता ‘सोई किसे’ विरुद्ध गरेको दाबीका कारण  विवादमा रहेको जहाज अहिले स्वेज नहरको​ बीचमा रहेको तालमा छ। जहाजमा अहिलेपनि थुप्रै कन्टेनरहरु रहेका छन्। 

स्वेज नहर प्राधिकरणका प्रमुख ओसामा राबीले यस मामिलामा तत्कालै सेटलमेन्टको सम्भावना नरहेको र आफुहरुले जहाजको स्वामित्वकर्ताबाट कुनै पनि प्रतिक्रिया प्राप्त नगरेको बताएका छन्। यसका साथै उनले यस मामिलाई अदालतमा लिएर जाने बताए। 

उता युुके क्लबले स्वेज नहर प्राधिकरणले अदालतमा पेश गरेको दाबीमा घटाइएको रकम उल्लेख नगरिएको जनाएको छ। यसको साथै दाबीलाई पुष्टि गर्ने प्रमाणहरु जहाजको स्वामित्वकर्तालाई उपलब्ध नगराइएको क्लबmे जनाएको छ। 

स्वेज नहर प्राधिकरणको दाबीलाई पुर्नविचार गर्नका लागि इजिप्टको आर्थिक अदालतले मे २२ मा सुनुवाई गर्दैछ।   

 


Share this with your friends: