काठमाण्डौ। कोरोना महामारीका कारण अष्ट्रेलियाको मोटर इन्स्योरेन्स बजार ४.४ प्रतिशतले संकुचित हुने अनुमान लगाइएको छ। ग्लोबल डेटाका अनुसार महामारीका कारण सन् २०१९ को ३.६ प्रतिशतको वृद्धिमा तिव्र गिरावट आएपछि यसको प्रभाव त्यहाको मोटर इन्स्योरेन्स बजारमा देखिने भएको हो।
कोरोनाको प्रकोप पश्चात ग्लोबल डेटाले अष्ट्रेलियाको मोटर इन्स्योरेन्स बजारको लागि आफ्नो पूर्वानुमान परिमार्जन गरेको छ। ताजा डेटाका अनुसार अटो क्षेत्रमा जारी रहेको आर्थिक अनिश्चिनता र दिर्घकालिन मन्दीका कारण आर्थिक वर्ष २०१९–२०२४ मा अष्ट्रेलियाको मोटर इन्स्योरेन्स व्यवसायकोे कम्पाउण्ड बार्षिक वृद्धि दर १.६ प्रतिशत रहने छ।
ऋण प्रवाहलाई कसिलो बनाइएपछि र ग्राहकको निम्न खर्चका कारण सन् २०१८–२०१९ मा अष्ट्रेलियाको अटोमोबाइल्स बिक्रि ७.८ प्रतिशतले घटेको थियो। कोरोना महामारीका कारण यो वर्षको जुलाई महिनामा नयाँ सवारी साधनको बिक्रि १९.२ प्रतिशतले घटेको थियो। यसले गर्दा त्यहाका मोटर बीमाकर्ताले न्युन प्रिमियम उठाउनु पर्यो।
ग्लोबल डेटाका अनुसार यसको प्रभाव व्यावसायिक क्षेत्रमा धेरै देखिनेछ। अष्ट्रेलियाका फेडरल च्याम्बर अफ अटोमोटिभ इन्डस्ट्रीजका अनुसार यो वर्षको जुन महिनाको तुलनामा जुलाई महिनामा व्यावसायिक सवारी साधनको बिक्रि ४६.५ प्रतिशतले घटेको छ। यो अवधिमा प्यासेन्जर र स्पोर्ट युटिलिटी भेईकलको बिक्रि भने तुलनात्मक रुपमा कम अर्थात २८.९ प्रतिशतले घटेको छ।
अष्ट्रेलियामा देखिएको संक्रमणको दोस्रो लहरका कारण त्यहाका मोटर बीमाकर्ताले थप तनावको सामना गर्नुपर्ने हुन सक्ने अनुमान लगाईएको छ। प्रिमियमलाई वृद्धि गर्नका लागि एलियाज्न जस्ता बीमाकर्ताले मोटर इन्स्योरेन्समा १५ प्रतिशतको छुट उपलब्ध गराईरहेका छन्।