अर्थ मन्त्रालयद्वारा कोरोना बीमाको दाबी भुक्तानी तीन दिन भित्र दिन निर्देशन

2020-12-04
अर्थ मन्त्रालयद्वारा कोरोना बीमाको दाबी भुक्तानी तीन दिन भित्र दिन निर्देशन

काठमाण्डौ । अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी तीन दिन भित्र गर्न व्यवस्था मिलाउन बीमा समितिलाई पुन निर्देशन दिएको छ। यस अघि कोरोना बिमा रकम सात दिनभित्र भुक्तानी दिन मन्त्रालयले निर्देशन दिएको भए तापनि निर्देशन कार्यान्वयन नभएपछि मन्त्रालयले पुनः ताकेता निर्देशन पठाएको हो ।

मन्त्रालयले कोरोना बीमा मापदण्ड बमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी ३ दिनभित्र गर्ने व्यवस्था मिलाउन समितिलाई लिखित निर्देशन दिएको हो। 

भेरिफिकेशन गर्न बाँकी दावीको भेरिफिकेशन यथाशिघ्र सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन मन्त्रालयले समितिलाई निर्देशन दिएको छ । साथै कोरोना बीमा दावी भूक्तानीका सम्बन्धमा बिभिन्न बीमा कम्पनीहरुबाट प्राप्त दावी भुक्तानीमा के कस्ता समस्या देखिएका छन् त्यसबारे विवरण पठाउन मन्त्रालयले निर्देशन परेको छ। 

कोरोना बीमा दाबी भुक्तानीका सम्बन्धमा हाल कुनकुन बीमा कम्पनीमा कति संख्यामा दावी परेको विबरण पेण्डिङ रहेको छ र सो को विवरण र समस्या समाधानका लागि समितिबाट के प्रयास भैरहेको भन्नेबारे पनि जानकारी दिन भनिएकोे छ । साथै मन्त्रालयबाट सहजीकरणका लागि पहल गर्नु पर्ने विषयहरु केके हुन यसको विस्तृत विवरण मन्त्रालयमा पठाउनु हुन बीमा समितिलाई ताकेता पत्रमा भनिएको छ ।

यस्तै, बीमा समिति तथा निर्जीवन बीमा कम्पनीहरुले अब नियमित रुपमा कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, भेरिफिकेसनका लागि स्वास्थ्य सेवा विभागमा पठाइएको संख्या, भेरिफिकेसन नभएका वा नक्कली दाबीको विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकीको विवरण समेत सार्वजनिक गर्न समेत निर्देशन दिइएको छ। 


Share this with your friends: