कोरोना बीमाको दाबी भुक्तानीका लागि कटिवद्ध रहेको बीमक संघको स्पष्टोक्ति

2020-10-08
कोरोना बीमाको दाबी भुक्तानीका लागि कटिवद्ध रहेको बीमक संघको स्पष्टोक्ति

काठमाण्डौ । नेपाल बीमक संघमा आवद्ध बीमा कम्पनीहरुले आफुहरु कोरोना दाबी भुक्तानीका लागि कटिवद्ध रहेको जनाएका छन्। नेपाल बीमक संघ मार्फत एक सूचना जारी गर्दै कम्पनीहरुले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन्। 

संघले कोरोनाबीमाको दाबीभुक्तानी गर्दा नैतिक जोखिमका सम्भावनालाई ध्यानमा राखेर वास्तविक संक्रमित व्यक्तिले मात्र बीमा दाबीभुक्तानी प्राप्त गरुन् भन्नेतर्फ सचेत हुनु आफ्नो कर्तव्य रहेको उल्लेख गरेको छ। यसका साथै  कोरोना बीमा कार्यक्रममा नेपाल सरकारको बजेट समेत प्रयोग हुने कारण झुठो दाबीमार्फत नेपाली जनताको करको दुरुपयोग नहोस् भन्नेतर्फ आफूहरु सचेत रहेको संघले प्रस्ट पारेको छ। सोही कारणले आवश्यक प्रतिक्रिया अवलम्बन गर्दा बीमा दाबीभुक्तानीमा केही समय लाग्ने गरेको संघले जनाएको छ। 

संघले गत वैशाख ७ बाट कोरोना बीमालेख जारी हुँदा संक्रमित बीमितले बीमांक रकमबराबर एकमुष्ट ५० हजार रुपैयाँ वा १ लाख रुपैयाँ दाबीभुक्तानी पाइने व्यवस्था भएको तर पछि परिस्थितिलाई मध्यनजर गर्दै गरिएको परिमार्जनपछि गत भदौ २८ गतेबाट कोरोना संक्रमण भएमा एकमुष्ट २५ हजार रुपैयाँ र अस्पताल भर्ना भई उपचार गर्नुपरेमा उपचारखर्चबापत ७५ हजार रुपैयाँसम्म पाइने गरी बीमालेखमा संशोधन गरिएको प्रष्ट पारेको छ। 
कोरोना बीमा दाबीभुक्तानीमा झन्झट व्यहोर्नुपरेको गुनासाहरु सुनिन थालेपछि बीमक संघले कोरोनाभाइरस बीमाको दाबीभुक्तानी पाउनका लागि आवश्यक कागजपत्रबारे समेत प्रस्ट रुपमा जानकारी गराएको छ। 


संघले कोरोना दाबी भुक्तानीका लागि निम्न बजोमिमका कागजातहरु आवश्यक पर्ने जानकारी दिएको छ।

१. बीमालेखको प्रतिलिपि,
२. पूर्ण रुपमा भरिएको दावी फारम,
३. कोरोना भाइरस संक्रमण पुष्टि हुने पिसिआर परिक्षण सक्कल प्रति
४. होम आईसोलेशनमा बसेको अवस्थामा स्थानीय निकायबाट होम आईसोलेशनमा बसेको बारे प्रमाणित पत्र
५. अस्पताल वा आईसोलेशन केन्द्रमा भर्ना भएको अवस्थामा डिस्चार्ज सिट
६. संक्रमित बीमितको परिचय खुल्ने आधिकारिक पत्र (नागरिकताको प्रमाण पत्र, नाबालकको हकमा जन्मदर्ता प्रमाण पत्र)
७. अस्पताल भर्ना भई उपचार गर्नु परको अवस्थामा उपचारको बिलहरु (२०७७ भाद्र २८ गते पछि जारी बीमालेखको हकमा मात्र)

 


Share this with your friends: