जीवन बीमा कम्पनीहरुको खुद मुनाफा ३.२० अर्ब बढी, कसको कति ?

2021-05-20
जीवन बीमा कम्पनीहरुको खुद मुनाफा ३.२० अर्ब बढी, कसको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब बढी खुद मुनाफा आर्जन गरेका छन्। यो अवधिसम्ममा सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले ३ अर्ब २० करोड ८० लाख रुपेयाँ खुद मुनाफा आर्जन गरेका हुन्। 

जीवन बीमा कम्पनीहरुले आर्जन गरेको यो मुनाफा गत वर्षको सोहि अवधिको तुलनामा १९.०८ प्रतिशतले बढी हो। अघिल्लो आ.वको तेस्रो त्रैमासको अन्तयसम्ममा जीवन बीमा कम्पनीहरुको खुद मुनाफा २ अर्ब ६९ करोड ३९ लाख रुपैयाँमा सीमित थियो।  

जीवन बीमा कम्पनीहरुमध्ये तेस्रो त्रैमासको अन्त्यसम्ममा सबैभन्दा धेरै मुनाफा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कमाउन सफल भएको छ। समीक्षा अजधिसम्ममा कम्पनीले ५० करोड ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ८.३६ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्ममा कम्पनीले ४६ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। 

सबैभन्दा धेरै मुनाफा आर्जन गर्नेको दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। नेशनल लाइफ यो अवधिमा ३२ करोड २५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। जुन गत वर्षको सोहि अवधिको तुलनामा २.१९ प्रतिशतले धेरै हो। अघिल्लो आ.वको तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद मुनाफा ३१ करोड ५६ लाख रुपैयाँ थियो। 

यस्तै तेस्रो स्थानमा रहेको सूुर्या लाइफ इन्स्योरेन्सले २९ करोड १० लाख रुपैयाँ बराबरको मुनाफा आर्जन गरेको छ। यो रकम कम्पनीको गत वर्षको सोहि अवधिको तुलनामा ५५.८७ प्रतिशतले धेरै हो। समीक्षा अवधिसम्ममा मेट अमेरिकन लाइफ २५ करोड ८८ लाख, प्राइम लाइफले २२ करोड ८६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ २० करोड ३४ लाख, एशियन लाइफ १८ करोड २१ लाख, एलआईसी नेपाल १५ करोड ३७ लाख, प्रभु लाइफ १३ करोड ७८ लाख, सिटिजन लाइफ १४ करोड ५७ लाख, ज्योति लाइफ १२ करोड ७ लाख र गुराँस लाइफ इन्स्योरेन्सले १० करोड ४२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्। 

यस्तै यो अवधिसम्ममा आइएमई लाइफले १० करोड १ लाख, सन नेपाल लाइफ ९ करोड ५५ लाख, सानिमा लाइफ ९ करोड ३६ लाख, यूनियन लाइफ ८ करोड २५ लाख, महालक्ष्मी लाइफ ६ करोड ६८ लाख, रिलायन्स लाइफ ६ करोड ५८ लाख र राष्ट्रिय बीमा संस्थानले ४ करोड ८६लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल रहेका छन्। 

यसरी तेस्रो त्रैमासको अन्तयसम्ममा जीवन बीमा कम्पनीहरुले औसतमा १६ करोड ८८ लाख रुपेयाँ खुद मुनाफा आर्जन गरेका छन्। 
प्रतिशतका आधारमा यो अवधिमा सबैभन्दा धेरै मुनाफा प्रभु लाइफ इन्स्योरेन्सको वृद्धि भएको छ। प्रभु लाइफको मुनाफा गत वर्षको सोहि अवधिको तुलनामा १४८.२९ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्ष ५ करोड ५५ लाख रुपैयाँ  मुनाफा आर्जन गरेको कम्पनीले समीक्षा अवधिसम्ममा १३ करोड ७८ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ। यो अवधिमा दुुई कम्पनीको खुद मुनाफा भने गत वर्षको तुलनामा घटेको छ। यूनियन लाइफको मुनाफा ७.५१ प्रतिशतले घटेको छ। अघिल्लो आ.वको तेस्रो त्रैमासको अन्तयसम्ममा ८ करोड ९२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीको मुनाफा चालु आ.वको तेस्रो त्रैमासको अन्त्यसम्म आईपुुग्दा ८ करोड २५ लाख रुपैयाँमा सीमित भयो। यस्तै राष्ट्रिय बीमा संस्थानको मुनाफा पनि १.४२ प्रतिशतले घट्यो।    

 


Share this with your friends: