देवकुमार ढकाल भन्छन्-'नेपालको बैंकिङ दक्षिण एशियामै सवल छ, ढुक्क भएर कारोबार गर्नू'

2 महिना अगाडी
देवकुमार ढकाल भन्छन्-'नेपालको बैंकिङ दक्षिण एशियामै सवल छ, ढुक्क भएर कारोबार गर्नू'

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको बैंक सुपरीवेक्षण विभागका प्रमुख (कार्यकारी निर्देशक) देवकुमार ढकालले नेपालको बैंकिङ दक्षिण एशियाकै अब्बल रहेको दाबी गरेका छन् ।  

बिजशालासँग कुरा गर्दै उनले नेपालको बैंकिङमा कुनै पनि ठूलो समस्या नरहेको र अधिकांश बैंक तथा वित्तीय संस्थाको वित्तीय सूचक राम्रो रहेको उल्लेख गर्दै सर्वसाधारणलाई ढुक्क भएर कारोबार गर्न र कसैले फैलाएको सुनियोजित हल्लाको पछाडि नलाग्न आग्रह गरेका हुन् ।

पछिल्लो  समय एनआईसी एशिया लगायतका बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध फैलाइएको दुष्प्रचारको विषयमा सोधिएको प्रश्नमा उनले कुनै पनि संस्थामा बाहिर आएको हल्लाजस्तो समस्या नरहेको बताएका हुन् ।  

'हाम्रा बैंक तथा वित्तीय संस्थाहरुको अवस्था खराब छैन । केहीको निस्क्रिय कर्जा अनुपात बढेको छ । हामीले ५ प्रतिशतभित्र निस्क्रिय कर्जा अनुपातलाई सीमित राख्ने नीतिगत व्यवस्था गरेका छौं ।' ढकालले भने-'अधिकांशको निस्क्रिय कर्जा अनुपात सीमाभित्रै छ । एनआईसी एशियाको त अझ १.१९ प्रतिशत मात्र छ । एनआईसी एशिया लगायतका केही बंैकको मुख्य सूचक यो उद्योगको औसतभन्दा पनि राम्रो देखिन्छ । बाहिर हल्ला गरिएजस्तो कुनै पनि संस्थामा समस्या छैन ।'  

उनले नेपालका बैंक तथा वित्तीय संस्थासँग ढुक्क भएर कारोबार गर्न र आधारहीन हल्लाको पछाडि नलाग्न समेत सर्वसाधारणमा आह्वान गरेका छन् ।  


Share this with your friends: