नेपाल बैंकले वैशाख २२ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

2021-04-23
नेपाल बैंकले वैशाख २२ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले आगामी वैशाख २२ गतेदेखि ३.५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गर्ने भएको हो।

बैंकले बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १० वर्षे अवधिको ‘८.५ नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।  

यो ऋणपत्रको कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १४ लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ। सार्वजनिक निष्कासन गरिने १४ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुने ७० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार इकाइ बाँडफाँड गरी बाँकी १ अर्ब ३८ करोड ५० लाख रुपैयाँ ऋणपुँजी रकमबराबरको इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ। 

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्र निष्कासन छिटोमा वैशाख २६ गते र ढिलोमा जेठ ५ गते बैंकिङ समयपछि बन्द हुनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा ३ लाख इकाइसम्मका लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । ब्याजदरको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ।

धितोपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। 
बैंकलाई यो ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले गत चैत १३ गते अनुमति प्रदान गरेको थियो । 


Share this with your friends: