नेशनल लाइफको वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांस पारित

2021-01-28
नेशनल लाइफको वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांस पारित

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको वार्षिक साधारण सभा काठमाण्डौ लाजिम्पाट स्थित कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट कम्पनीको अध्यक्ष श्रीमती प्रेमा सिंहको अध्यक्षतामा सञ्चालन गरिएको थियो । 

सभामा आ.व २०७५/७६ का लागि १० प्रतिशत बोनस सेयर र बोनस सेयर बापतको कर प्रयोजनका लागि १ करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँ बराबरको नगद लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ । प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार ५४८ रुपैयाँको १० प्रतिशतले हुन आउने ३० करोड ८२ लाख ६२ हजार ६५५ रुपैयाँ बराबरको बोनस सेयर र १ करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँ बराबरको नगद लाभांस रहेका थिए। 

यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेश गरिएको आ.व २०७५/७६ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। यस्तै आ.व २०७५/७६ को वासलात, आय व्यय हिसाब, नाफा नोक्सान हिसाब एवम लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। 

यस्तै सभामा आ.व २०७६/७७ का लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिएको छ। 

सभामा अध्यक्ष सिंहले आ.व.२०७५/७६ मा कम्पनीको सबै वित्तिय सूचकांकहरु सन्तोषजनक रहेको र कूल बीमाशुल्क संकलन गत वर्षको तुलनामा २४.८६ प्रतिशतले बृद्धि भई रु.८०५.०५  करोडपुगेको र रु.३५ करोड खुद मुनाफा आर्जन गरेको अवगत गराइन । यसै गरी आ.व २०७५/७६ को अन्त सम्ममा कम्पनीको कुल लगानी २७.९४ प्रतिशतले बृद्धि भई रु.२६८१ करोड पुगेको र कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २५ प्रतिशतले बृद्धि भई २०७६ असार मसान्त सम्ममा रु. २६ अरब ९२ करोड पुगेको जानकारी दिइन । 

सभामा अध्यक्षले कम्पनी पूँजीको हिसाबले समेत सवल भएको र चालु वर्षको वोनस समेत गरी कूल चुक्ता पूँजी रु.३ अरब ३९ करोड नाघेको जानकारी दिईन । आ.व.२०७५/०७६ मा २५ वटा नँया शाखा खोल्न स्विकृती प्राप्त गरी कूल शाखा संख्या ९९ पुगेको र आगामी दिनमा शाखा सन्जालमा थप विस्तार गर्ने साथै कम्पनीले ब्यवसायीक अभिकर्ता उत्पादन र गुणस्तर बृद्धिमा विशेष जोड दिएको सिंहले बताईन । 

लगानी विविधिकरण गरी लामो अवधिको लगानी बृद्धि गर्ने कम्पनीको प्रयासमा उल्लेखनीय सफलता हासिल भएको, परिणाम स्वरुप कम्पनीको कोषको वार्षिक प्रतिफल दर उत्साहप्रद रुपले ११.५३ प्रतिशत पुगेको र यसवाट भविष्यमा लगानी आयमा स्थिरता ल्याउन सहयोग पुग्ने अध्यक्षले बताइन् । 


Share this with your friends: