नेशनल लाइफद्वारा ४ अर्ब बढी प्रथम बीमाशुल्क आर्जन, एलआईसी नेपाललाई उछिन्दै दोस्रो स्थानमा उक्लियो

2021-07-21
नेशनल लाइफद्वारा ४ अर्ब बढी प्रथम बीमाशुल्क आर्जन, एलआईसी नेपाललाई उछिन्दै दोस्रो स्थानमा उक्लियो

काठमाण्डौ । जीवन बीमा ब्यवसायमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ। गत आर्थिक वर्षमा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्नेको सूचीमा कम्पनी दोस्रो स्थानमा उक्लिएको छ। कम्पनीले देशकै ठुलो कम्पनीमध्ये एक एलआईसी नेपाललाई उछिन्दै यस्तो सफलता हासिल गरेको हो। 
 
कम्पनीले उक्त अवधिसम्म चार अर्ब भन्दाबढी प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशतले बढी हो। यस्तै उक्त अवधिमा कम्पनीले १२ अर्ब १६ करोड कुल बीमाशुल्क आर्जन गरेको छ। नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको स्टाटस नै तल माथि हुने गरी प्रगति गरेपछि कम्पनीमा उत्सवमय वातावरणको सिर्जना भएको छ। कम्पनीले यो सफलतालाई निरन्तरता दिदैँ थप प्रगति गर्नेमा कर्मचारी र अभिकर्ता सबै उत्साहित र विश्वस्त भएको कम्पनीले जनाएको छ।  
 
नेशनल लाइफले उछिनेको एलआइसी नेपालको प्रथम बीमाशुल्क रु.३ अर्ब ५५ करोड रहेको छ। उक्त प्रथम बीमाशुृल्कका साथ एलआइसी नेपाल तेश्रो स्थानमा झरेको छ। यसैगरी रु.३ अरब १९ करोड प्रथम बीमाशुल्क आर्जन गर्दै युनियन लाइफ चौथो स्थानमा रहेको छ। 
 
प्रथम बीमाशुल्कका साथ–साथै कम्पनीको नविकरण बीमाशुल्क समेत उल्लेख्य रुपमा बृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा जम्मा नौ अर्ब २६ करोड ७४ लाख कुल बीमाशुल्क संकलन गरेको कम्पनीले गत आ.व.मा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो। 
 
सबै वित्तिय सूचांकमा उल्लेख्य प्रगति गरेको कम्पनी अव नेपालको दोश्रो ठूलो जीवन बीमा कम्पनी बन्न सफल भएको छ। प्रथम बीमाशुल्क आर्जनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको नेपाल लाइफले गत आर्थिक वर्षमा  ३२ अरब ८४ करोड कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। 

Share this with your friends: