युनिक नेपाल लघुवित्तले डाक्यो साधारण सभा, आईपीओ जारी मुख्य अजेन्डा

2020-12-02
युनिक नेपाल लघुवित्तले डाक्यो साधारण सभा, आईपीओ जारी मुख्य अजेन्डा

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो साधारण सभा आउँदो पुस १० गतेका लागि डाकेको हो। बैठकले सधारण सभा बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा न.११ स्थित म्याक्स होटलमा बिहान १०.४५ बजे आयोजना गर्ने निर्णय गरेको छ। यद्यपी कोरोना महामारीको जोखिम अझै बढेर सभा आयोजना सम्भव नभएमा वेभनार जुम प्रविधिबाट आयोजना गरिने संस्थाले जनाएको छ। 

सभामा संस्थाको जारी पुँजि वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यसका साथै कल इन एडभान्सलाई हकप्रद सेयरमा रुपान्तरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

यस्तै प्राप्ति वा मर्जर सम्बन्धि अख्तियारी र सञ्चालक समितिका सदस्यहरु चयन अनुमोदन गरिनेछ। 

उक्त सभामा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ। 

संस्थाले प्रतिसेय रु. १०० अंकित दरका २ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। आईपीओ बिक्री गरी बाँडफाँड गरेपछि संस्थाको चुक्तापुँजी ९ करोड पुग्नेछ। 

अहिले संस्थाको चुक्तापुँजी ६ करोड ३० लाख रुपैयाँ रहेको छ। अधिकृत पूँजी १० करोड रहेको संस्थाको जारी पूँजी भने ९ करोड रुपैयाँ रहेको छ। 

बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको यो संस्थाले २०७५ साल पुस १ गतेदेखि आफ्नो वित्तीय कारोबार सुरु गरेको थियो। स्थापनाको छोटो अवधिमै संस्थाले आफ्नो कार्यक्षेत्र बर्दिया, कैलाली, बाँके, कञ्चनपुर, दाङ र कपिलवस्तु जिल्लाभित्र ३८ वटा शाखा कार्यालयमार्फत ८२ हजार ८६५ विपन्न वर्गका महिलालाई समूहमा आबर्धगरी १ अर्ब ७८ करोड ९८ लाख ९३ हजार रुपैयाँ बचत संकलन तथा २ अर्ब ५० करोड ४३ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।

संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । 


Share this with your friends: