हिन्द महासागरमा तेलको ट्यांकर दुर्घटना , बीमा कम्पनीले १ बिलियन भुक्तानी गर्न सक्ने

2020-08-25
हिन्द महासागरमा तेलको ट्यांकर दुर्घटना , बीमा कम्पनीले १ बिलियन भुक्तानी गर्न सक्ने

काठमाण्डौ । गत जुलाई २५ तारिख ४ हजार ६१७ टन तेल बोकेर मौरिससका लागि हिँडेकोे जापानको कार्गाे जहाज एमभी वाकासियो हिन्द महासागरमा दुर्घटनाग्रस्त भयो। सामुद्रिक चट्टानमा ठोकिएपछि जहाजमा रहेको करिब १ हजार टन तेल हिन्द महासागरमा पोखियो। तेल पोखिनुलाई मौरिससको सबैभन्दा खराब पर्यावरणीय प्रकोपका रुपमा लिइएको छ।

यो दुर्घटनापश्चात टापु राष्ट्रले राष्ट्रव्यापी आपतकालको घोषणा गर्दै अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेको थियो। विगतका दशकहरुमा तेल ट्यांकरहरुको तेल समुद्रमा पोखिने घटनामा नाटकीय गिरावट आएको छ।

सन् २०१९ मा बितेको ५० वर्षकै सबैभन्दा कम तेल ट्यांकर दुर्घटना भएको थियो। तर मौरिससमा भएको यो दुर्घटनाले आर्थिक र पर्यावरणीय दृष्टिकोणबाट जोखिम अझै कम भइनसकेको देखाएको छ।

कसले तिर्छ क्षतिपूर्ति ?

दुर्घटना भएको एमभी वाकासियोको मालिक नागासिकी सिपिङ हो। कम्पनीले जापानको बीमा कम्पनी पी एन्ड आईसँग बीमा सम्झौता गरेको छ।

जहाज दुर्घटना भएपछि अहिले बीमा कम्पनीले दाबीभुक्तानीका लागि आन्तरिक अनुमान लगाइरहेको छ। बीमा कम्पनीले कति दाबीभुक्तानी गर्ने भनेर सार्वजनिक रुपमा अहिलेसम्म केही खुलाएको छैन।

प्राप्त जानकारीका अनुसार सिपिङ कम्पनीको पोलिसीमा महासागरबाट जहाज हटाउने, पोखिएको तेल सफा गर्ने र अन्य कानुनी दायित्वहरु समावेश छन्।

एस एन्ड पी ग्लोबल रेटिङ विश्लेषक कोसिरो इमुराले इन्टरनेसनलसिप वोनर इन्स्योरेन्स युनियनको समर्थनका कारण बीमा कम्पनी पी एन्ड आईले १ बिलियन डलर भुक्तानी गर्न सक्ने बताएका छन्।

यसका साथै मौरिसस सरकारले पनि पर्यावरणीय सरसफाइको खर्चका लागि क्षतिपूर्ति माग गरेको छ। 


Share this with your friends: