५ वर्ष पुराना निर्जीवन बीमा कम्पनीहरुको हकप्रद नरोकिने, पूँजी वृद्धिका लागि कसको के योजना ?

2021-06-17
५ वर्ष पुराना निर्जीवन बीमा कम्पनीहरुको हकप्रद नरोकिने, पूँजी वृद्धिका लागि कसको के योजना ?

काठमाडौं । बीमा समितिले ५ वर्ष पुराना निर्जीवन बीमा कम्पनीहरुलाई हकप्रद निश्कासन गर्न दिने भएको छ । 

यो व्यवस्था बीमा समितिले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै ल्याउन लागेको हो । 

संचालनको ५ वर्ष पूरा भएका र वित्तीय अवस्थामा खासै गडबड नदेखिएका निर्जीवन बीमा कम्पनीहरुलाई हकप्रद निश्कासन गरेरै भए पनि पूँजी बढाउने बाटो खुल्ला गर्ने नीति आउन लागेको हो । 

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले असार अन्तिम साता सार्र्वजनिक हुने तयारी गरिएको नीति तथा कार्यक्रममा निर्जीवन बीमा कम्पनीहरुको हालको पूँजीलाई बढाउने व्यवस्था आउने र त्यसका लागि पुराना कम्पनीहरुलाई हकप्रद निश्कासनको बाटो खुल्ला गरिने जानकारी दिए । 

‘हामीले अजोडजस्ता नयाँ कम्पनीहरुलाई मात्र हकप्रद निश्कासन गर्न रोकेका हौं । प्रक्रिया पूरा गएर आएपछि पुरानालाई पूँजी वृद्धिको योजनामा समिति बाधक बन्दैन ।’ उनले भने–‘हाम्रो यही सिद्धान्तका कारण हालै आइएमई जनरल इन्स्योरेन्सलाई हकप्रद निश्कासनको अनुमति दिइएको हो । अन्य आधादर्जन बढी कम्पनीले पनि हकप्रदको प्रस्ताव गरिरहेका छन्, आवश्यक अध्ययनपछि अनुमति दिइनेछ ।’

यदि कुनै कम्पनीले समितिको स्वीकृतिबिनै साधारणसभामा हकप्रदको अजेण्डा लग्छ भने त्यस्तोले निश्कासन गर्न पाउनेछैन ।  

उनले संचालनको ५ वर्ष पनि पूरा नभएका कम्पनीहरुले हकप्रद निश्कासनको रहर गर्न नहुने समेत प्रष्ट पारे । ‘त्यस्ता कम्पनी बजारमा टिक्न सक्दैनन् भने कि मर्जरमा जानुपर्यो, होइन भने राम्रो कमाएर बोनस सेयर जारी गर्दै पूँजी बढाउनुपर्यो ।’ उनले थपे ।

कुन–कुन कम्पनीको पूँजीवृद्धिको योजना कस्तो  ?

अध्यक्ष सिलवालले कुन कुन कम्पनीले हकप्रद निश्कासनका लागि आवेदन दिएका छन् भन्ने कुरा खुलाएनन् । 
तर बीमा समितिस्थित अर्को एक उच्च स्रोतका अनुसार यूनाइटेड इन्स्योरेन्सदेखि नेपाल इन्स्योरेन्ससम्मका कम्पनीहरुले हकप्रद निश्कासन गर्न खोजेका छन् । 

यूनाइटेड इन्स्योरेन्सले ३० प्रतिशतसम्म हकप्रद निश्कासनको प्रस्ताव गरेको छ भने नेपाल इन्स्योरेन्सले सबैभन्दा बढी १०० प्रतिशत हकप्रद निश्कासनको माग गरेको छ । 

नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको चौथो त्रैमासिक रिपोर्ट केही सुखद आउने आधार प्रस्तुत गर्दै एक सय प्रतिशत हकप्रद र राम्रो बोनस सेयर दिएर पूँजी ३ अर्बसम्म पुर्याउने प्रस्ताव गरेको स्रोत दाबी गर्छ । 

नेपाल इन्स्योरेन्सले सेयर बजारमा गरेको लगानीबाट पनि राम्रो प्रफिट बुक गरेको लगायतका आधार प्रस्तुत गरेको छ । समितिस्थित स्रोतले भन्यो ः उसले एनसीसी बैंकको मात्रै १८ करोड बढीको सेयर बेचेको रहेछ । 

समितिस्थित स्रोतका अनुसार एनएलजी इन्स्योरेन्सले पनि ४० प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव गरेको छ । उसले गरेको प्रस्तावको विषयमा समेत आवश्यक अध्ययन भइरहेको छ । 

हिमालयन जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सले भने हकप्रद निश्कासनको प्रस्ताव गरेका छैनन् । ती दुई कम्पनीबीच मर्जरमा जाने विषयमा अनौपचारिक सहमति भएको कुरा आएको छ । स्रोतले भन्यो ः त्यसको औपचारिक जानकारी भने आइसकेको छैन । 

अन्य केही कम्पनीहरु पनि मर्जरको प्रयासमा रहेका सूचना आएको समेत स्रोतले बतायो । 

शिखर इन्स्योरेन्स ३० प्रतिशत हकप्रद निश्कासनको बाटोमा अगाडि बढिसकेकोले उसले आफैं पूँजी बढाउने लाइन पक्रिएको देखिने स्रोत बताउँछ । नेको इन्स्योरेन्स पनि मर्जरकै बाटोमा रहेको छ । सिद्धार्थ इन्स्योरेन्स पनि मर्जरकै बाटोमा रहेको स्रोत दाबी गर्छ । लुम्बिनी जनरल इन्स्योरेन्स हकप्रद निश्कासनको प्रयास गरिरहेको छ । 

राष्ट्रिय बीमा कम्पनी हकप्रद र बोनस सेयर जारी गरेरै पूँजी बढाउने योजनामा छ भने एभरेष्ट इन्स्योरेन्स, प्रभू इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रूडेन्सियल इन्स्योरेन्स मर्जर र हकप्रद दुवै अजेण्डामा अगाडि बढ्न सक्ने देखिन्छ ।


Share this with your friends: