रुस–युक्रेन युद्धका कारण अन्तराष्ट्रिय बीमा उद्योगमा ठूलो प्रभाव पर्ने

2022-03-02
रुस–युक्रेन युद्धका कारण अन्तराष्ट्रिय बीमा उद्योगमा ठूलो प्रभाव पर्ने

काठमाण्डौ । रुस–युक्रेन युद्धका कारण मुद्रास्फीतिमा थप दबाब सिर्जना हुनुका साथै विश्व बीमा उद्योगमा ठूलो प्रभाव पर्न सक्ने जनाइएको छ। बीमा कम्पनीहरुलाई रेटिङ प्रदान गर्ने रेटिङ एजेन्सी एएम वेष्टले यस्तो जनाएको हो। 

एएम वेष्टले एक रिपोर्ट सार्वजनिक गर्दै रुस–युक्रेन युद्धले विश्वका केन्द्रिय बैंकहरु तथा अमेरिकाको फेडरल रिजर्भको मुद्रास्फीतिलाई नियन्त्रणमा राख्ने प्रयासलाई चुनौति दिएको जनाएको छ। यसका साथै प्रतिबन्धहरुले विश्वका केहि कम लचिला देशहरुको तेल तथा वस्तुको मूल्य प्रभावित बन्नुका साथै त्यहाँको पर्यटन र अर्थतन्त्रमा समेत प्रभाव पार्नेछ। 

एएम वेष्टले प्रतिबन्धहरु दोहोरो हुने जनाएको छ। बेलायत र युरोपेली युनियनका देशहरु ग्यासका लागि रुसमा निर्भर भएकाले रुसले प्रतिबन्ध लगाउँदा यी देशहरुमा ग्यासको मूल्यले आकाश छुने निश्चित प्राय छ। 

यस्तै थप प्रतिबन्धहरुले अन्तराष्ट्रिय बीमकहरु तथा पुनर्बीमकहरुको रुसी जोखिमहरु अन्डरराइटिङ गर्ने क्षमतामा असर गर्न सक्ने वा विद्यमान पोलिसीहरुमा दाबी भुक्तानी गर्न अझै कठिनाई हुने सक्ने एएम वेष्टकी वित्तीय विश्लेषक आना सेरेमेतेभाले बताएकि छन्। उर्जा तथा पूर्वाधारको अन्डरारइटिङ गर्ने लन्डनका बीमकहरु र अन्तराष्ट्रिय पुनर्बीमकहरु यसबाट सबैभन्दा धेरै प्रभावित बन्ने आना बताउछिन्। 

यसैगरी रुसका पुनर्बीमकहरुसँग पुनर्बीमा गरेका विदेशी बीमकहरुले रिकभरीको समस्यासँग जुध्नुपर्ने जनाइएको छ। 

प्रतिबन्धले रुसका बीमकहरुको ब्यालेन्स सिट र अन्तराष्ट्रिय साझेदारहरुसँगको सम्बन्धलाई समेत प्रभावित पार्नेछ। 

 


Share this with your friends: