‘इन्स्योरेन्स युरोप’द्वारा रुसी बीमा महासंघको सदस्यता खारेज

2022-03-09
‘इन्स्योरेन्स युरोप’द्वारा रुसी बीमा महासंघको सदस्यता खारेज

काठमाण्डौ । युरोपका बीमक तथा पुनर्बीमकहरुको संगठन‘इन्स्योरेन्स युरोप’ले रुसी बीमा महासंघको सदस्यता खारेज गरेको छ। युरोपको इन्स्योरेन्स बोर्डले रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्दै इन्स्योरेन्स युरोपमा रहेको रुसी बीमा महासंघको सदस्यता खारेज गर्ने पक्षमा मतदान गरेको हो। 

युक्रेनका पाचँ व्यवसायी संघद्वारा संयुक्त रुपमा पठाइएको पत्रको जवाफ दिदैँ इन्स्योरेन्स युरोपका महानिर्देशक माइकला कोलरले अहिलेको चुनोतिपूर्ण अवस्थामा अविश्वसनीय शक्ति र बहादुरी देखाएका युक्रेनी जनतासँग इन्स्योरेन्स युरोपको पूर्ण ऐक्यबद्धता रहेको बताएकी छन्।  
उनले युक्रेनले पठाएको पत्र युरोप इन्स्योरेन्सका सबै सदस्यहरुलाई साझा गरिएको र फलस्वरुप इन्स्योरेन्स युरोपमा रहेको रुसी बीमा महासंघको सदस्यता खारेज गर्ने सहमति भएको बताइन्।  

यस्तै इन्स्योरेन्स युरोपले युक्रेनमाथिको रुस सरकारको कदमको चर्को आलोचना गर्दै सार्वजनिक विज्ञती जारी गरेको छ। युरोपका विभिन्न बीमा संगठनहरु तथा कम्पनीहरुले युक्रेनी जनताको सहयोगका लागि मानवीय तथा वित्तीय सहायताहरु प्रदान गरिरहेका छन्। रुसमा आफ्ना क्रियाकलापहरु बन्द गर्दै युरोपका बीमा बीमकहरुले रुसका बीमा कम्पनीहरुमाथि प्रतिबन्धहरु समेत लगाईरहेका छन्। यसैगरी उनीहरुले युक्रेनमा रहेका आफ्ना कर्मचारीहरुको सुरक्षालाई प्राथमिकतामा राखेका छन्।   


Share this with your friends: