आइएमई जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

2021-04-04
आइएमई जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको गत चैत २० गते बसेको सञ्चालक समितिको बैठकले २३ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी वैशाख १२ गते आइतबारका दिन काठमाण्डौस्थित नक्सालमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हा। उक्त सभामा सञ्चालक समितिबाट प्रस्तावित ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांस गरी कुल ७.३७ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै कम्पनीको विशेषज्ञ÷स्वतन्त्र सञ्चालकमा कृष्णप्रसाद शर्मालाई बाँकी कार्यकालका लागि नियुक्त गरिएकाले सोको अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा बोनस सेयर पश्चात कायम हुने कम्पनीको चुक्तापूँजीको ४० प्रतिशत(१० अनुपात ४ का दरले) हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरिनेछ। यसैगरी कम्पनीको जारी तथा चुक्तापूँजीको अनुपात संस्थापत सेयरधनी समूहतर्फ ६० प्रतिशत र सर्वसाधारण समूहतर्फ ४० प्रतिशत रहेकोमा संसोधन गरी संस्थापक समूहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समूहतर्फ ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरिनेछ। 

सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै आ.व २०७६/७७ को लेखापरीक्षणको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिनुका साथै आ.व २०७७/७८ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी वैशाख २ गतेदेखि १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ वैशाख १ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।   

 


Share this with your friends: