आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्ड पुगे यूनियन र सानिमा लाइफ

2021-06-15
आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्ड पुगे यूनियन र सानिमा लाइफ

काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा निवेदन दिएका छन् । यी दुवै कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत जेठ ९ गते बोर्डमा निवेदन दिएका हुन् ।

यूनियन लाईफ इन्स्योरेन्सले ६४ करोड ५० लाख रुपैयाँबराबरको ६४ लाख ५० हजार कित्ता र सानिमा लाईफ इन्स्योरेन्सले ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्कासनका लागि निवेदन दिएका हुन् । दुवै कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

सानिमा लाईफ इन्स्योरेन्सको चुक्तापूँजी १ अर्ब ४० करोड रहेको छ । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले त्रीपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको संकेत गर्ने गर्दछ ।

यस्तै यूनियन लाईफ इन्स्योरेन्सको चुक्तापूँजी हाल १ अर्ब ५० करोड ५० लाख रहेको छ । कम्पनीको निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने संकेत गर्ने गर्दछ ।

सानिमा लाइफको गत जेठ २३ गते सम्पन्न वार्षिक साधारण सभाले आईपीओ निष्कासनको प्रस्ताव अनुमोदन गरेको थियो । यस्तै यूनियन लाइफको गत जेठ ११ गते सम्पन्न वार्षिक साधारण सभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको थियो ।


Share this with your friends: