एनआईसी एसिया बैंकद्वारा ३ बीमा कम्पनी सहित ४ कम्पनीको सेयर लिलामीमा

2020-11-29
एनआईसी एसिया बैंकद्वारा ३ बीमा कम्पनी सहित ४ कम्पनीको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आजदेखि(मंसिर १४ गते) चार कम्पनीमा आफ्नो स्वामित्वमा रहेका संस्थापक सेयर लिलामीमा राखेको छ। 

बैंकले चार कम्पनीमा आफ्नो स्वामित्वमा रहेका कुल ६ लाख ६० हजार ७५० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। बैंकले नागरिक लगानी कोष ९सीआईटी०, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, एसियन लाइफ इन्स्योरेन्स कम्पनी र नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा रहेका संस्थापक समूहका संस्थापक सेयर लिलामीमा रखेको हो। 

लिलामीमा रहेका राखिएका कुल ६ लाख ६० हजार ७५० कित्ता संस्थापक सेयरमध्ये सीटीआईटीको २ लाख २ हजार ५६० कित्ता, सूर्या लाइफको १ लाख ९२ हजार ९९४ कित्ता, एसियन लाइफको १ लाख ३९ हजार ४७० कित्ता र नेसनल लाइफको १ लाख २५ हजार ७२६ कित्ता रहेका छन्। 

लिलामीमा राखिएका सेयरहरुमा योग्य लगानीकर्ताहरुले प्रतिकित्ता दरभाउ कबुल गरी गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ। सेयर खरिदका लागि बोलकबोल गर्दा सबै कम्पनीको हकमा न्यूनतम १०० कित्ता वा सोभन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। साथै कुनै एक व्यक्ति वा संस्थाले एकभन्दा बढी आवेदन छुट्टाछुट्टै दररेटमा बोलकबोल आवेदन गर्दा छुट्टाछुट्टै शिलबन्दी खाममा पेस गर्नुपर्नेछ। 

लगानीकर्ताले बोलपत्र आवेदन काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटल लिमिटेड, एनआईसी एसिया बैंकको काठमाण्डौ थापाथलीस्थित कर्पोरेट कार्यालय तथा शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा महेन्द्रपुल, बुटवल, धनगढी र सुर्खेतमा आगामी मंसिर १९ गते बैंकिङ समयसम्म पेस गर्नुपर्नेछ। 

 


Share this with your friends: