एनएलजी इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

2022-03-08
एनएलजी इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १६ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो । 

बैठकले आगामी चैत १७ गते बिहिबारका दिन काठमाण्डौ बालुवाटारमा रहेको आम्रपाली ब्याङ्केटमा बिहान १०.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।   

उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस गरी कुल १०.५२६३ प्रतिशत लाभांस वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । प्रस्तावित लाभांसमा चुक्तापूँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ०५० रुपैयाँको १० प्रतिशतले हुन आउने १२ करोड ६ लाख १ हजार ३०५ रुपैयाँबराबरको बोनस सेयर र ०.५२६३ प्रतिशतले हुन आउने ६३ लाख ४७ हजार ४३७ रुपैयाँ बराबरको नगद लाभांस रहेका छन् । 

त्यस्तै बोनस सेयर वितरणपश्चात कम्पनीको जारी तथा चुक्तापूँजी १ अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँ पुग्ने हुँदा सोहि अनुरुप कम्पनीको प्रबन्धपत्र संसोधन गर्ने प्रस्ताव पारित गरिनेछ । प्रबन्धपत्र तथा नियमावलीमा सम्बन्धित निकायबाट कुनै फेरबदल गर्नुपर्ने भएमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

उक्त सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षण प्रतिवेदन सहित आ.व २०७७/७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु तथा एनएफआरएस बमोजिमको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ।व २०७८/७९ का लागि बाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। यस्तै सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिािधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव गरिनेछ ।  

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी चैत ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले बुक क्लोज हुनु अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।


Share this with your friends: