एसियन लाइफको खर्च घट्दा नाफा ह्वात्तै बढ्यो, बिमाशुल्क आर्जनमा ७७%को उछाल

2020-08-12
एसियन लाइफको खर्च घट्दा नाफा ह्वात्तै बढ्यो, बिमाशुल्क आर्जनमा ७७%को उछाल

काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा ४ अर्ब ५४ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन ४ अर्ब २१ करोड रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १ अर्ब ५६ लाख रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा यो रकम १ अर्ब २९ लाख रुपैयाँमा सीमित थियो।
 
त्यस्तै समीक्षा अवधिमा कम्पनीले ५२ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ४० करोड ४८ लाख रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले २८.५८ प्रतिशत धेरै खुद दाबी भुक्तानी गरेको छ। 

चौथो त्रैमासको अन्त्यसम्म कम्पनी १८ करोड १८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ७८.४२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १० करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनी अघिल्लो वर्षको तुलनामा आफ्नो व्यवस्थापन घटाउन सफल भएको छ। कम्पनीको व्यवस्थापन खर्च ६२ करोड ६८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको व्यवस्थापन खर्च ६३ करोड १९ लाख रुपैयाँ थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बिमा कोषको आकार बढेर २१ अर्ब ६१ करोड रुपैयाँ भएको छ। जुन अघिल्लो वर्षको तुलनामा २६.९७ प्रतिशतले बढी हो। 

अघिल्लो वर्ष ३६ करोड ५२ लाख रुपैयाँमा सीमित कम्पनीको जगेडा तथा कोषको आकार बढेर ५४ करोड ७० लाख रुपैयाँको उचाइमा पुगेको छ। 

त्यस्तै महा विपत्ती जगेडाको आकार पनि बढेर ६ करोड १२ लाख रुपैयाँको भएको छ। अघिल्लो वर्ष यो आकार ४ करोड ७३ हजार रुपैयाँको थियो। 

अघिल्लो वर्ष २ लाख ५० हजार ३५४ बिमा लेख जारी गरेको कम्पनीले समीक्षा अवधिमा भने यो संख्या बढाएर २ लाख ९० हजार ७२३ पुर्याएको छ। 

समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी(इपिएस) ९.०४ रुपैयाँ, प्रति सेयर नेटवर्थ १३०.२५, पि.ई अनुपात ६७.११ र प्रति सेयर कुल सम्पत्ति मूल्य १२३०.८८ रहेको छ।    


Share this with your friends: