गत वर्ष जीवन बीमा कम्पनीका लगानीकर्ता मालामाल, यस्तो रह्यो प्रदर्शन

2021-04-14
गत वर्ष जीवन बीमा कम्पनीका लगानीकर्ता मालामाल, यस्तो रह्यो प्रदर्शन

काठमाण्डौ। गत वर्ष अर्थात २०७७ साल नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कारोबार गर्ने जीवन बीमा कम्पनीहरुका लागि विशेष रह्यो। गत वर्ष कारोबार गर्ने सबै बीमा कम्पनीका लगानीकर्ता मालामाल भएका छन्। बुल मार्केटमा गत वर्ष जीवन बीमा कम्पनीका लगानीकर्ताको सम्पत्ति ४०० गुणाभन्दा बढीले बढेको छ। 

कोरोना महामारीको प्रभावका बाबजुत जीवन बीमा कम्पनीहरुले गरेको राम्रो वित्तीय प्रगतिका कारण कम्पनीका लगानीकर्ताहरु मालामाल भएका हुन्। उसो त सेयर बजार पनि बुल रनमा रहनु र सेयर बजारप्रति नयाँ लगानीकर्ताको बढ्दो आर्कषणका कारण पनि बीमा कम्पनीहरुको सेयरमूल्यमा उछाल आउने कारण बनेको छ।  

गत एक वर्षको अवधिमा सबैभन्दा धेरै मूल्य प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा भएको छ। गत मंसिर २९ गते आईपीओ निष्कासन गरेको प्रभु लाइफको कारोबार १४१ रुपेयाँमा खुलेको थियो। त्यसपश्चात हिजो अर्थात वर्षको अन्तिम दिनसम्म पुग्दा कम्पनीको सेयरमूल्य ८०० रुपैयाँ कायम भएको छ। यसरी यो कम्पनीको सेयरमूल्य ४६७.३७ प्रतिशतले वृद्धि भएको छ। 

यो सूचीको दोस्रो स्थानमा एशियन लाइफ इन्स्योरेन्स रहेको छ। बितेको एक वर्षको अवधिमा एशियन लाइफका लगानीकर्ताको सम्पत्ति १७६.१५ प्रतिशतले बढ्यो। वर्षको सुरुवातमा प्रतिकित्ता सेयरमूल्य ४७८ रुपैयाँ रहेको कम्पनीको सेयरमूल्य वर्षको अन्तिम दिन आईपुग्दा प्रतिकित्ता १३२० रुपैयाँको उचाईमा पुगेको छ। यो अवधिमा सूर्या लाइफका लगानीकर्ताले पनि १२९.२३ प्रतिशतका दरले कमाए। वर्षको सुरुवातमा प्रतिकित्ता ३६६ रुपैयाँ रहेको कम्पनीको सेयरमूल्य अन्तिम दिन प्रतिकित्ता ८३९ रुपैयाँ कायम भयो। 

गत वर्ष मात्रै आईपीओ निष्कासन गरेको रिलायन्स लाइफको सेयरमूल्य पनि ११४.१२ प्रतिशतले वृद्धि भएको छ। प्रतिकित्ता ३४० रुपैयाँमा कारोबार खुलेको यो कम्पनीको सेयरमूल्य ७२८ रुपैयाँ पुगेको छ। त्यस्तै वर्षको सुरुवातमा प्रतिकित्ता १०२३ रुपैयाँ रहेको नेपाल लाइफको सेयरमूल्य २११२ रुपैयाँ पुगको छ । यसरी एक वर्षको अवधिमा कम्पनीको सेयरमूल्य १०६.४५ प्रतिशतले बढेको छ । 

यस्तै नेशनल लाइफको सेयरमूल्य ११२.५२ प्रतिशत, लाइफ इन्स्योरेनस कर्पोरेशन ११२.३७ प्रतिशत, गुराँस लाइफ ९६.९३ प्रतिशत  प्राइम लाइफ इन्स्योरेन्स ७५.७० र ज्योति लाइफको सेयरमूल्य ३२.४७ प्रतिशतलले वृद्धि भएको छ।    

 


Share this with your friends: