नेको इन्सुरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

2022-03-01
नेको इन्सुरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २६ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी चैत ९ गते बुधबारका दिन काठमाण्डौको ज्ञानेश्वरमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनी सञ्चालक समितिद्वारा प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांस गरी कुल १५.७९ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै बोनस सेयरको हदसम्म जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरिनेछ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणको प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

कम्पनीले वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि आगामी चैत १ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन ३० गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा सभामा सहभागी हुन योग्य हुनेछन् । 


Share this with your friends: