नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, यस्ता छन् अजेन्डा

2021-04-09
नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, यस्ता छन् अजेन्डा

काठमाण्डौ । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(चैत २७ गते) आयोजना हुन गईरहेको छ। 

सभा काठमाण्डौ सिनामंगलमा अवस्थित एयरपोर्ट होटलमा बिहान ११ बजे सभा आयोजना हुन गईरहेको हो । उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। कम्पनीद्वारा प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार ४८६ रुपैयाँले को ८ प्रतिशतले हुन आउने ९ करोड २० लाख २५ हजार ७९ रुपैयाँ बराबरको बोनस सेयर र २ प्रतिशतले हुन आउने २ करोड ३० लाख ६ हजार २७० रुपैयाँ बराबरको नगद लाभांस रहेका छन्। 

यस्तै सभामा बोनस सेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब २४ करोड २३ लाख ३८ हजार ५६५ रुपैयाँ पुग्ने भएकाले सोहि बमोजिम कम्पनीको प्रबन्धपत्रमा भएको जारी तथा चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ। सभामा कम्पनीको संस्थापक सेयरधनीको तर्फबाट रिक्त सञ्चालकमा संस्थापक सेयरधनी विशाल मिनरल्स एण्ड माइन्सका प्रतिनिधि विष्णु खेतान अग्रवाललाई बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्त गरिएकाले सो को अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ। 

यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा आ.व २०७६/७७ को लेखापरीक्षणको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आ।व २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 

साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी चैत १७ गतेदेखि २७ गतेसम्म(सभा आयोजना नहुन्जेलसम्म) बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ चैत १६ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।


Share this with your friends: