नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

2021-04-09
नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाण्डौ सिनामंगलमा अवस्थित एयरपोर्ट होटलमा आज(चैत २७ गते) कम्पनीको ७२ औँ वार्षिक साधारण सम्पन्न भएको हो । 

उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ। कम्पनीद्वारा प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार ४८६ रुपैयाँले को ८ प्रतिशतले हुन आउने ९ करोड २० लाख २५ हजार ७९ रुपैयाँ बराबरको बोनस सेयर र २ प्रतिशतले हुन आउने २ करोड ३० लाख ६ हजार २७० रुपैयाँ बराबरको नगद लाभांस रहेका थिए। 

यस्तै सभामा बोनस सेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब २४ करोड २३ लाख ३८ हजार ५६५ रुपैयाँ पुग्ने भएकाले सोहि बमोजिम कम्पनीको प्रबन्धपत्रमा भएको जारी तथा चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने प्रस्ताव पारित गरिएको छ। सभामा कम्पनीको संस्थापक सेयरधनीको तर्फबाट रिक्त सञ्चालकमा संस्थापक सेयरधनी विशाल मिनरल्स एण्ड माइन्सका प्रतिनिधि विष्णु खेतान अग्रवाललाई बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्त गरिएकाले सो को अनुमोदन गर्ने प्रस्ताव पारित गरिएको छ । 

यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। सभामा आ.व २०७६/७७ को लेखापरीक्षणको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आ.व २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिएको छ। 


Share this with your friends: