फागुनसम्म जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ८२ अर्ब बढी, नेपाल लाइफ अग्रस्थानमा

2021-03-28
फागुनसम्म जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ८२ अर्ब बढी, नेपाल लाइफ अग्रस्थानमा

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो ८ महिना(फागुन)सम्ममा ८२ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन्।

बीमा समितिको तथ्यांक अनुसार सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले ८२ अर्ब २० करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका हुन्। यो रकम गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३६.५० प्रतिशत बढी हो। गत आर्थिक वर्षको फागुन महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ६० अर्ब २२ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका थिए। यस अवधिमा जीवन बीमा कम्पनीहरुले ८१ लाख ८७ हजार ९६८ बीमा पोलिसी जारी गरेका छन्।

बीमा समितिको तथ्यांक अनुसार यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ शीर्ष स्थानमा रहेको छ। यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २२ अर्ब ६७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ। जुन रकम गत आर्थिक वर्षको तुलनामा २५.५९ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो ८ महिनासम्ममा नेपाल लाइफको बीमाशुल्क आर्जन १८ अर्ब ५ करोड रुपैयाँ थियो। सूचीको दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) रहेको छ। कम्पनीले यस अवधिमा १० अर्ब ८८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२.३९ प्रतिशत बढी हो। यस्तै तेस्रो स्थानमा रहेको नेशनल लाइफको बीमाशुल्क आर्जन ७ अर्ब ८३ करोड रुपैयाँ रहेको छ। ६ अर्ब ५२ करोड रुपैयाँका साथ राष्ट्रिय बीमा संस्थान चौथो स्थानमा रहेको छ।

यसैगरी यस अवधिसम्ममा युनियन लाइफले ४ अर्ब ६७ करोड, एशियन लाइफले ४ अर्ब ०४ करोड रुपैयाँ, मेट लाइफ ३ अर्ब ५१ करोड, सूर्या लाइफ २ अर्ब ९६ करोड, प्राइम लाइफ २ अर्ब ७५ करोड, गुराँस लाइफ २ अर्ब ६८ करोड, सिटिजन लाइफ २ अर्ब ७ करोड, ज्योति लाइफ १ अर्ब ९९ करोड, रिलायबल लाइफ १ अर्ब ७४ करोड, आइएमई लाइफ १ अर्ब ६१ करोड, सन नेपाल लाइफ १ अर्ब ४१ करोड, सानिमा लाइफ १ अर्ब २६ करोड प्रभु लाइफ ९८ करोड र महालक्ष्मी लाइफले ६८ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन्।


Share this with your friends: