बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेका दुई लघुवित्तको संस्थापक सेयरको लिलामीमा

2022-03-27
बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेका दुई लघुवित्तको संस्थापक सेयरको लिलामीमा

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आज(चैत १३ गते)देखि आफ्नो स्वामित्वमा रहेको दुई लघुवित्तको संस्थापक सेयर लिलामीमा राखेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखेको हो। 

बैंकले आरएमडिसी लघुवित्तको १ लाख ४९ हजार ८ सय कित्ता र छिमेक लघुवित्तको ६ लाख ६ हजार १४० कित्ता गरी कुल ७ लाख ५५ हजार ९४० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। लिलामी सेयरमा संस्थापक सेयरधनी तथा अन्य इच्छुक व्यक्ति,कम्पनी तथा संघसंस्थाहरुले बोलपत्र आह्वान पेश गर्न सक्नेछन्। लगानीकर्ताले आगामी वैशाख १८ गते बैंकिङ समयसम्म बिओके क्यापिटल मार्केट लिमिटेड कमलादीमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। 

बैंकले आरएमडिसीको हकमा न्युनतम मूल्य प्रतिकित्ता ५४० रुपैयाँ र छिमेक लघुवित्तको हकमा भने ६ सय रुपैयाँ निर्धारण गरेको छ। लगानीकर्ताले न्युनतम २ हजार कित्ताका लागि र अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले शिलबन्दी खाम बाहिर आफुले दिन चाहेको सम्बन्धित कम्पनीको नाम तथा संस्थापक सेयर खरिद आवेदन उल्लेख गरेको हुनुपर्नेछ। 

लगानीकर्ताले बिओके क्यापिटल मार्केट कमलादी काठमाण्डौमा बोलपत्र आवेदन लिएर बुझाउन सक्नेछन्।  


Share this with your friends: