मुक्तिनाथ विकास बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

2021-11-21
मुक्तिनाथ विकास बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १५ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी मंसिर २५ गते शनिबारका दिन पोखरा स्थित होटल जल महलमा सभा आयोजना गर्ने निर्णय गरेको छ। 

उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरिएको १७.५७५ प्रतिशत बोनस सेयर र ०.९२५ प्रतिशत नगद लाभांस गरी कुल १८.५ प्रतिशत लाभांस वितरणको विशेष प्रस्ताव पारित गरिनेछ। 

सभामा बैंकको चुक्तापूँजी ४ अर्ब ८१ करोड १५ लाख ५० हजार ४०३ रुपैयाँबाट वृद्धि गरी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार ८५६.८४ रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गरिनेछ।

यसका साथै सभामा बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने वा गाभिने वा प्राप्तिका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने र यस सम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

यसैगरी सञ्चालक समितिकोतर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०७७/७८ असार मसान्तसम्मको वासलात नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

बैंकले वार्षिक साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि आगामी मंसिर १५ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।    


Share this with your friends: