युनियन हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, हकप्रद निष्कासन गर्ने मुख्य अजेन्डा

2021-06-14
युनियन हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, हकप्रद निष्कासन गर्ने मुख्य अजेन्डा

काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडले दुुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ। कम्पनीको जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औँ र १४ औँ वार्षिक साधारण सभा एकैपटक डाकेको हो। 

बैठकले यी सभाहरु आगामी असार २५ गते ललितपुर धोबिघाट स्थित कम्पनीको रजिष्टर्ड कार्यालयबाट भर्चुअल माध्यम जुममार्फत सभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा कम्पनीको नियमावली संसोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने र कम्पनीद्वारा प्रवर्धित ३ मेगावाट क्षमताको करापु जलविद्युत आयोजनाका लिइएको ऋणको व्यवस्थापन र अन्य आयोजनाको विकास र अध्ययनका लागि हकप्रद सेयर जारी गरी पूँजी उठाउने विशेष प्रस्ताव पारित गरिनेछ। 

यस्तै कम्पनीले अनुमतिपत्र प्राप्त गरेका आयोजनाहरुको छुट्टै कम्पनी खोली आयोजनाको अनुमतिपत्र हस्तान्तरण गर्न, स्वदेशी तथा विदेशी लगानीकर्ता खोज्न र बैंक वित्तीय संस्थासँग समन्वयन गरी फाइनान्सियल गर्ने समेतको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आ.व २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। लेखापरीक्षणको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वासलात,नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ। यस्तै दुवै आ.वको लेखापरीक्षणका लागि गरिएको लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारणलाई स्वीकृति प्रदान गरिनेछ।  

सभामा कम्पनीका संस्थापक सेयरधनीहरुमध्येबाट तीनजना र सर्वसाधारण समूहबाट एक जना महिलासहित ३ जना गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ। 

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी असार १५ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।  

 


Share this with your friends: