यूनियन लाइफ र मनकामना स्मार्ट लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, कारोबार कहिलेदेखि ?

2021-08-01
यूनियन लाइफ र मनकामना स्मार्ट लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, कारोबार कहिलेदेखि ?

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मनकामना स्मार्ट लघुवित्तको सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। यूनियन लाइफको २ करोड १५ लाख र मनकामना स्मार्ट लघुवित्तको १२ लाख ११ हजार ५ सय कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। 

यूनियन लाइफ र नेप्सेबीच आज(साउन १७ गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएका २ करोड १५ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। कम्पनीले आम सर्वसाधारणका लागि निष्कासन गरेको ६४ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको १ करोड ५० लाख ५० हजार कित्ता गरी कुल २ करोड १५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। 

त्यस्तै मनकामना स्मार्ट लघुवित्त र नेप्सेबीच पनि आजै(साउन १७ गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएका १२ लाख ११ हजार ५ सय कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। कम्पनीले आम सर्वसाधारणका लागि निष्कासन गरेको ३ लाख ८९ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ८ लाख ५२ हजार ५ सय कित्ता गरी कुल १२ लाख ११ हजार ५ सय कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। 

नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम साउन १५ गतेको निर्णयानुसार यूनियन लाइफको र साउन १४ गतेको निर्णयअनुसार मनकामना स्मार्ट लघुवित्तको सेयर सूचीकृत भएको जनाएको छ। 

नेप्सेले यूनियन लाइफको पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज प्रतिकित्ता ११५.१३ रुपैयाँदेखि ३४५.३९ रुपैयाँ तोकेको छ। यस्तै मनकामना स्मार्ट लघुवित्तको पहिलो कारोबारका लागि आपनिङ रेन्ज प्रतिकित्ता ११०.८४ रुपैयाँदेखि ३३२.५२ रुपैयाँ निर्धारण गरेको छ । आज नेप्से र यी दुवै कम्पनीबीच सेयर सूचीकरण सम्झौता सम्पन्न भएको छ। भोलिको प्रि ओपन सेसनमा यदि नेप्सेले तोकेको ओपनिङ रेञ्जभित्र कम्पनीहरुको सेयर कारोबार भएमा दुवै कम्पनीको सेयर कारोबार नियमित समयमा सुचारु हुनेछ।


Share this with your friends: