राष्ट्रिय बीमा संस्थान ५५ औँ वर्षमा प्रवेश

2022-02-23
राष्ट्रिय बीमा संस्थान ५५ औँ वर्षमा प्रवेश

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थान ५५ औँ वर्षमा प्रवेश गरेको छ । वि.स २०२४ सालमा प्राइभेट कम्पनीको रुपमा स्थापना भएको राष्ट्रिय बीमा संस्थान ५४ वर्ष पुरा गरी ५५ औँ वर्षमा प्रवेश गरेको हो । 

राष्ट्रिय बीमा संस्थान देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्न, विदेशी मुद्राको व्ययभार रोक्न तथा दक्ष व्यावसायिक बीमा कम्पनी स्थापना गर्न नेपाल सरकारको निर्णय अनुरुप वि.स २०२४ पौष १ गते प्राइभेट कम्पनीको रुपमा स्थापना भएका हो । यस्तै कम्पनी राष्ट्रिय बीमा संस्थान ऐन २०२५ अन्तर्गत संस्थानको रुपमा २०२५ साल पौष १ गते परिणत भएको थियो ।

संस्थानले वि.स २०२४ फागुन ११ बाट निर्जीवन बीमा तथा वि.स २०२९ फागुन ७ गतेबाट जीवन बीमा व्यवसायको कारोबार शुरु गरेको थियो । 
 यस संस्थानले आजसम्मको कार्यकालमा नेपाल सरकारले लिएको लक्ष्य तथा उद्देश्य अनुरूप नै कार्य गर्न र उच्च प्रतिफल दिन सफल भएको छ । संस्थानले नेपाली बीमा बजारमा दक्ष जनशक्ति फिँजाएको छ । राष्ट्रिय बीमा संस्थान नेपाली जीवन संरक्षण गर्न एक सुनिश्चित भविष्यको पर्याय बनेको छ ।

संस्थानले एक कार्यक्रम आयोजना गर्दै आज वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । उक्त वार्षिकोत्सव समारोहमा अर्थ सचिव मधुकुमार मरासिनी, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल लगायतको उपस्थिति थियो ।

संस्थानले ५४ वर्षको लामो यात्रामा सहयोग पुर्याउने नेपाल सरकार, बीमा समिति, सेयरधनी, विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, संस्थागत तथा व्यक्तिगत बीमित, अभिकर्ता, पूनर्बीमक लगायत सबै सरोकारवाल र शुभचिन्तकहरुप्रति आभार प्रकट गरेको छ । 


Share this with your friends: