रिलायन्स लाइफको आइपीओमा अचाक्ली आवेदन, दोश्रो दिनमै उछाल

2020-08-21
रिलायन्स लाइफको आइपीओमा अचाक्ली आवेदन, दोश्रो दिनमै उछाल

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले निश्कासन गरेको आइपीओमा दोश्रो दिन अचाक्ली आवेदन परेको छ । 

मेरो सेयरमा लोड धेरै भएका कारण र काठमाण्डौ लगायतका क्षेत्रमा निषेधाज्ञा लागेका कारण पहिलो दिनको आवेदनमा त्यसको सामान्य प्रभाव देखिए पनि दोश्रो दिन शुक्रबार पनि अचाक्ली आवेदन परेको हो । 

कम्पनीको आइपीओ दोश्रो दिन नै ओभरसब्सक्राइब्ड भएको देखिएको छ । यो दिन ४ः३० बजेसम्म २ लाख ९३ हजार ९२५ आवेदकले १ करोड २६ लाख ७० हजार ९६० कित्ता माग गर्दै आवेदन दिएका छन् । 

रिलायन्स लाइफले सर्वसाधारणका लागि ५६ लाख ७० हजार कित्ता आइपीओ बिहीबारदेखि निश्कासन गरेको थियो । शुक्रबारसम्म परेको आवेदन तथा माग भएको सेयर कित्ता हेर्दा मागभन्दा करिब अढाई गुणा आवेदन परेको देखिन्छ । 

आइपीओ खरीदका लागि छिटोमा भदौ ८ गतेसम्म आवेदन दिन सकिन्छ । 

कम्पनीको आइपीओमा कम्तीमा पनि १० कित्ता र अधिकतम ६३ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । 

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तिय संस्था र तिनका शाखा वा मेरो सेयरबाट बाट खरीद आवेदन दिन सक्ने बताइएको छ ।  

कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ संस्थापक सेयरधनीहरुबाट चुक्तापुँजी कायम गरिसकेको छ।  

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले आईपीओ ग्रेड ४ को रेटिङ प्रदान गरेको छ। यसको अर्थ कम्पनीको वित्तीय अवस्था औसतभन्दा तल आधारहरु जनाउने रहेको छ भन्ने हो।


Share this with your friends: