लगानी निर्देशिका उल्लंघन गरेको भन्दै अग्रवाललाई स्पष्टीकरण सोध्ने बीमा समितिको तयारी

2021-04-19
लगानी निर्देशिका उल्लंघन गरेको भन्दै अग्रवाललाई स्पष्टीकरण सोध्ने बीमा समितिको तयारी

काठमाण्डौ । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका सञ्चालक दीपेन्द्र अग्रवाललाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ। बीमा समितिले निर्धारण गरेको लगानी निर्देशिका उल्लंघन गरेको आरोपमा गत शुक्रबार निलम्बन परेका अग्रवाललाई स्पष्टीकरण सोध्ने तयारी भईरहेको समितिले जनाएको छ। 

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले लगानी निर्देशिका उल्लंघन गरेको विषयमा स्पष्टीकरण सोध्ने तयारी भएको बताएका हुन्। ‘हाम्रो लगानी निर्देशिका उल्लंघन भएको देखिएकाले उहाँलाई स्पष्टीकरण सोध्ने तयारी गरेका हौँ।’ उनले भने ,‘ कम्पनीले लगानी निर्देशिकाले निर्धारण गरेको सीमा बाहिर गएर एउटै क्षेत्रमा धेरै लगानी गरेको देखिएकाले उहाँलाई निलम्बन गरेका थियौँ। उहाँ लगानी समितिको संयोजक भएकाले निलम्बनमा पर्नु भएको हो। अब यस विषयमा थप अनुसन्धान गर्न स्पष्टीकरण सोध्ने तयारी गरेका हौँ।’ 
बीमा समितिले लगानी निर्देशिका २०७५ उल्लंघन गर्दै सेयर बजारमा लगानी गरेको भन्दै अग्रवाललाई गत शुक्रबार सञ्चालक पदबाट निलम्बन गरेको थियो। 

समितिले जारी गरेको लगानी निर्देशिकामा बीमकले कुल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म लगानी नेपाल धितोपत्रबार्डबाट इजाजत प्राप्त सूचीकृत कम्पनीको साधारण सेयरमा लगानी गर्न पाउने व्यवस्था छ। तर हाम्रो निरीक्षणको क्रममा जनरल इन्स्योरेन्सले निर्देशिकाले ताकेको लगानीको सीमाभन्दा धेरै लगानी सेयर बजारमा गरेको पाइयो।’ पौडेलले भने। 
यसका साथै यो विषयसँग जोडिएका लगानी विभागका कर्मचारीहरुलाई समेत कारबाही गर्न कम्पनीलाई पत्राचार गरिएको पौडेलले बताए।  

 


Share this with your friends: