सगरमाथा इन्स्योरेन्सले सुरुवात गर्यो ‘सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजना’, यस्ता छन् सुविधा

2021-04-13
सगरमाथा इन्स्योरेन्सले सुरुवात गर्यो ‘सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजना’, यस्ता छन् सुविधा

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बीमा योजना ल्याएको छ । कम्पनीले सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजना नामक बीमा योजनाको सुरुवात गरेको हो । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाले उक्त बीमा योजनाको शुभारम्भ गरेका हुन् ।

यस बीमा पोलिसीमा ७ देखि १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना जोखिम, एकदेखि ५ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार जोखिम र एक देखि १० लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका जोखिम एकै पटकमा  ‘कभर’ हुनेछ ।

यो बीमा पोलिसी घर अफिस जुनसुकै ठाउँमा बसेर अनलाइनबाट सजिलै खरिद गर्न सकिने कम्पनीले जनाएको छ । न्युनतम शुल्कमा यस्तो पोलिसीको सुविधा लिन सकिने कम्पनीले जनएको छ । यदि कुनै बीमितले ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, एक लाख रुपैयाँको स्वास्थ्य उपचार बीमा र एक लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका जोखिमको बीमा गरियो भने एक वर्षमा जम्मा १६ सय रुपैयाँ बीमा शुल्क भुक्तानी गरेपुग्छ ।

यदि बीमितले १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, २ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार बीमा र दुई लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका रोगका बीमा गरियो भने एक वर्षमा तीन हजार रुपैयाँ मात्रै बीमा शुल्क भुक्तानी गरे पुग्नेछ । यस बाहेक बीमितले बीमाङ्क रकम फेरबदल गर्न पनि पाइने सुविधा रहेको छ ।

कम्पनीले बीमा दाबी भुक्तानीको प्रक्रियालाई पनि सहजिकरण गरेको छ । बीमितले आफु अस्पतालबाट डिस्चार्ज भएको वा रोग पत्ता लागेको ७ दिन भित्रमा लिखित वा मौखिक जानकारी दिनु पर्नेछ । अस्पतालको बिल भर्पाइ वा रिपोर्ट र डाक्टरको प्रेस्क्रिप्सन सहितका कागजपत्र बुझाएर बीमा रकम दाबी गर्न सकिन्छ । दाबी फारम भरेको र सबै कागजपत्र पुरा गरेको एक हप्ताभित्र रकम प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा जारी गरेको यस पोलिसीको शुभारम्भ कार्यक्रममा समितिका अध्यक्ष सिलवाल सहित कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकहरु पुजन ढुङ्गेल, शुशिलदेव सुवेदी, दिनेश लाल कर्णको उपस्थिती थियो । त्यस्तै सगरमाथा इन्स्योरेन्सका सञ्चालक समितिका अध्यक्ष रामकृष्ण मानन्धर, लोक मान्य गोल्छा लगायत सबै सञ्चालकको उपस्थिती थियो ।


Share this with your friends: