सानिमा लाईफको बिमा शुल्क ९८%ले वृद्धि, मुनाफा भने घट्यो

2020-08-12
सानिमा लाईफको बिमा शुल्क ९८%ले वृद्धि, मुनाफा भने घट्यो

काठमाण्डौ । सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा ८२ करोड ९३ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन ४१ करोड ७९ लाख रुपैयाँ थियो। 


समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ७ करोड ५४ लाख रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोही अवधिको तुलनामा १५८ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा यो रकम २ करोड ९१ लाख रुपैयाँमा सीमित थियो। 


त्यस्तै समीक्षा अवधिमा कम्पनीले ७६ लाख २६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ४३ लाख ९६ हजार रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले ७३.४७ प्रतिशत धेरै खुद दाबी भुक्तानी गरेको छ। 


चौथो त्रैमासको अन्त्यसम्म कम्पनी ८ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ४.१७ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले ८ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 


कम्पनीको व्यवस्थापन खर्च २१ करोड २० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको व्यवस्थापन खर्च १८ करोड ३४ लाख रुपैयाँ थियो। 
त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बिमा कोषको आकार बढेर ९५ करोड ८ लाख रुपैयाँ भएको छ। जुन अघिल्लो वर्षको तुलनामा ३२६.७३ प्रतिशतले बढी हो। 
अघिल्लो वर्ष १४ करोड ४३ लाख रुपैयाँमा सीमित कम्पनीको जगेडा तथा कोषको आकार घटेर १२ करोड २० लाख रुपैयाँमा पुगेको छ। 


समीक्षा अवधिमा कम्पनीले २७ हजार २१८ वटा बिमा लेख जारी गरेको छ।   

 


Share this with your friends: