काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आजबाट सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नियमित सेयर कारोबार खुलेको छ। स्पेशल प्रिओपन सेसनमा नेप्सेले तोकेको अधिकतम रेन्जभित्र प्रतिकित्ता ३०९ रुपैयाँमा कारोबार भएपछि धितोपत्र दोस्रो बजारमा आजदेखि कम्पनीको नियमित सेयर कारोबार खुलेको हो।
गत भदौ १६ गते नेप्सेमा कम्पनीको प्रतिसेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँ कायम भएका २ करोड कित्ता साधारण सेयर सूचीकृत भएको थियो। नेप्सेले यो कम्पनीको सेयरलाई प्रतिकित्ता १०३.१७ रुपैयाँदेखि ३०९.५१ रुपैयाँ ओपनिङ रेन्ज तोक्नुका साथै कारोबार संकेत एसएलआई संकेत कोड प्रदान गरेको थियो।
कम्पनीले गत साउन २० गतेदेखि आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँबराबरको रु। १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । कुल निष्कासनको ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशत अर्थात ३ कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित राखि बाँकी ५४ लाख कित्ता सेयर आम सर्वसाधारण का लागि जारी गरेको थियो ।