मध्यभोटकोशी जलविद्युत कम्पनीको आईपीओमा साउन ३२ गतेसम्म आवेदन दिन सकिने

2021-08-01
मध्यभोटकोशी जलविद्युत कम्पनीको आईपीओमा साउन ३२ गतेसम्म आवेदन दिन सकिने

काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडद्वारा आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रका बासिन्दाका लागि निष्कासित आईपीओको समयावधि थप गरिएको छ । लगानीकर्ताहरुले अब यो आईपीओमा साउन ३२ गतेसम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रका बासिन्दाका लागि गत वैशाख २१ गतेदेखि ६० लाख कित्ता आईपीओ निष्कासन गरेको कम्पनीले कोरोना संक्रमण वृद्धि भएको भन्दै वैशाख आईपीओ निष्कासन कार्य बन्द गरेको थियो । कम्पनीले गत साउन ५ गतेदेखि उक्त आईपीओको बिक्री आवेदन पुनः खुला गरेको थियो ।  

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा न.१ र ५(साविक लिस्ती गाविस र साविक मार्मिक गाविस),बाह्रबिसे नगरपालिका वडा न. ५ र ६(साविक गाति गाविस)तथा बाह्रबिसे नगरपालिका वडा न. ७ र ८(साविक घुम्पाङ गाविस र साविक मानेश्वरा गाविस)मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो। 


यो आईपीओमा न्यूनतम ५० कित्ता तथा अधिकतम ४०० कित्तासम्मको लागि खरिद आवेदन दिन सकिनेछ।

आईपीओ निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत वैशाख ५ गते अनुमति पाएको थियो। बोर्डले कम्पनीलाई १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको थियो। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।  पहिलो चरण अन्तर्गत आयोजना प्रभावित स्थानियका लागि निष्कासन गरेपछि कम्पनीले दोस्रो चरण अन्तर्गत सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।


Share this with your friends: