आजदेखि थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु

2021-04-07
आजदेखि थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु

काठमाण्डौ । पाचौँ स्वास्थ्य दिवसको अवसर पारेर सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई आज(चैत २५ गते)देखि थप ६ वटा जिल्लामा लागू गरेको छ। एक कार्यक्रमकाबीच आज स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले आजदेखि थप ६ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिने बताएका हुन्। 

थप ६ जिल्लामा सुरु भएपश्चात यो कार्यक्रम काठमाण्डौ र ललितपुर जिल्लामा समेत लागू गरिनेछ। स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएका थप ६ जिल्लामा  ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङ रहेका छन्। 

स्वास्थ्य बीमा कार्यक्रममार्फत पाँच जनासम्मको परिवारको तीन हजार ५ सय रुपैयाँ बुझाएपछि त्यस घरमा रहेका सदस्यले एक लाख रुपैयाँ बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा गराउन सक्नेछन् ।

पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्य ७ सयका दरले बीमा रकम थप गर्नुपर्नेछ । पाँच जनाभन्दा बढी सदस्यले प्रतिसदस्य २० हजारदेखि दुई लाख रुपैयाँसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ ।

बोर्डले बीमा कार्यक्रमका लागि देशभरिका सरकारी र निजी गरी ३७५ अस्पताललाई सूचीकृत गरेको छ । 

अहिले ६९ जिल्लामा बीमा कार्यक्रम सञ्चालन भए पनि सात लाख ४२ हजार १९२ घर परिवारका ३७ लाख १० हजार ९६२ जना बीमा कार्यक्रममा सहभागी रहेका छन् । तीमध्ये १४ लाख ३० हजारले मात्र बीमा कार्यक्रमको सुविधा लिएका छन् भने यस आर्थिक वर्षमा ७० प्रतिशत बीमितले नवीकरण गरेका छन् ।

 


Share this with your friends: