एशियन लाइफद्वारा वार्षिक साधारण सभा आह्वान

2022-01-13
एशियन लाइफद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस २८ गते बसेको सञ्चालक समितिको बैंठकले १३ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो । 

बैठकले आगामी माघ २१ गते शुक्रबारका दिन विरगंजमा रहेको होटल दियालो लड्समा बिहान ११ः३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । 
उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित २५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांस गरी कुल २७ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा कम्पनी ऐनले निर्धारण गरेकोभन्दा बढी भएको खर्चलाई अनुमोदन गरिनेछ । 

सभामा बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय तथा सम्बन्धित निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोहि अनुरुप कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरिक्षकको प्रतिवेदनसहित आ.व २०७६/७७ असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ । 

यस्तै कम्पनीको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटल लिमिटेडमा सामूहिक लगानी कोष(म्युचुअल फन्ड) सञ्चालन गर्न सम्बन्धित निकायबाट स्वीकृती लिेने र सो को कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी माघ १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Share this with your friends: