कामना सेवा विकास बैंकको ऋणपत्र निष्कासनको आज अन्तिम दिन

2021-02-18
कामना सेवा विकास बैंकको ऋणपत्र निष्कासनको आज अन्तिम दिन

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको ऋणपत्र खरिदमा आवेदन दिने आज(फागुन ०६ गते) अन्तिम दिन रहेको छ। गत माघ २२ गतेदेखि निष्कासन गरिएको बैंकको १ अर्ब रुपैयाँबराबरको १ हजार रुपैयाँ अंकित दरका १० लाख युनिटको “९ प्रतिशत केएसबीबीएल डिभेन्चर २०८७” नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो। 

ऋणपत्रका कुल युनिटमध्ये ६ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु.६० करोड ऋणपूँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ४ लाख युनिटले हुन आउने कुल ४० करोड ऋणपूँजी सर्वसाधारणका लागि निष्कासन गरिएको हो। सर्वसाधारणका लागि निष्कासन गरिएको कुल युनिटमध्ये ५ प्रतिशत अर्थात २० हजार युनिट सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ३ लाख ८० हजार युनिटका लागि आवेदन दिन सक्नेछन्। 

ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

दश वर्षे यो ऋणपत्रमा बैंकले वार्षिक ९ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज दिनेछ। 

 


Share this with your friends: