कोरोनाको जोखिम बढेसँगै मर्चेन्ट बैंकहरुले अनलाइनबाट मात्रै सेवा प्रदान गर्ने

2020-09-30
कोरोनाको जोखिम बढेसँगै मर्चेन्ट बैंकहरुले अनलाइनबाट मात्रै सेवा प्रदान गर्ने

काठमाण्डौ । मर्चेन्ट बैंकहरुले कोरोनाभाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राखी आज बुधबारदेखि ग्राहकको भौतिक उपस्थिति बिना सेवा प्रदान गर्ने जनाएका छन्।

मर्चेन्ट बैंकमा कार्यरत कर्मचारीहरु धमाधम कोरोना संक्रमण हुन थालेपछि आफ्ना कर्मचारी र सेवाग्राहीको प्रत्यक्ष सम्पर्कलाई रोकेको हो। मर्चेन्ट बैंकर संघका अध्यक्ष ध्रुव तिमिल्सिनाले क्यापिटलहरुमा कार्यरत कर्मचारी र सेवाग्राहीको बाक्लो भौतिक उपस्थितिले कोरोनो संक्रमणको जोखिम बढेको बताए। सेवा लिनका लागि भरसक क्यापिटलमा भौतिक उपस्थिति नहुन सेवाग्राहीलाई आग्रह गर्दै उनले फोन, ई–मेल र अनलाइनबाट सेवा प्राप्त गर्न सुझाए। 

संघमा आबद्ध २४ वटै क्यापिटल बन्द नगरे पनि क्यापिटलका मूल गेटमा सेक्युरिटी गार्ड र ड्रप बक्समार्फत आवश्यक कागजात दिई क्यापिटलबाट सुविधा लिने व्यवस्था मिलाइएको अध्यक्ष तिमिल्सिनाको भनाइ छ।

हिजोमात्र काठमाण्डौमा अहिलसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको र देशभर नै कोरोना जोखिम दिनप्रतिदिन फैलिरहेको तथ्य छ । यसै क्रममा हिजोमात्र नक्सालमा अवस्थित नबिल इन्भेस्टमेन्ट बैंकिङका १३ कर्मचारीमा कोरोना संक्रमण पाइएपछि ग्राहक तथा सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै क्यापिटलमा कार्यरत कर्मचारीहरुलाई सुरक्षित राखी सेवाको निरन्तरतालाई सुनिश्चित गर्नसमेत अपरिहार्य भएकाले अर्को सूचना जारी नभएसम्म २४ वटै क्यापिटलले भौतिक रुपमा ग्राहकको उपस्थिति बिना सेवा प्रदान गर्ने संघले जनाएको छ।

 


Share this with your friends: