ज्योति लाइफको आईपीओ निष्कासन यही शुक्रबारदेखि

2021-03-02
ज्योति लाइफको आईपीओ निष्कासन यही शुक्रबारदेखि

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको आईपीओकोे निष्कासन मिति परिवर्तन गरिएको छ। फागुन २३ गते निष्कासन गर्ने भनिएको कम्पनीको आईपीओ निष्कासन मिति दुई दिन अगाडी अर्थात फागुन २१ गतेदेखि निष्कासन हुने भएको हो। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एमएमबी क्यापिटल लिमिटेडका अनुसार सीडीएससीको निर्देशन अनुसार कम्पनीका आईपीओ निष्कासनको मिति दुई दिन अघि हुन लागेको हो। कारोबारका दिन आईपीओ निष्कासन गर्दा मेरो सेयरमा लोड पर्ने हुँदा लोड व्यवस्थापनका लागि शुक्रबार आईपीओ निष्कासन गर्न सीडीएससीले निर्देशन दिएकाले फागुन २१ गते आईपीओ निष्कासन गर्न लागिएको क्यापिटलले जनाएको छ। 

कम्पनीले जारी पूँजी रु। २ अर्ब २० करोडको ३० प्रतिशतले हुन आउने ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३ लाख ३० हजार सामूहिक लगानी कोषका लागि सुरक्षित राखिएको छ। बाँकी रहेको ९० प्रतिशत अर्थात ५९ लाख ४० हजार कित्ता सेयर भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ। 

कम्पनीलाई नेपाल धितोपत्र बोर्ड(सेबोनले) फागुन ७ गते रु. ६६ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति प्रदान गरेको थियो। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल रहेको छ। 

कम्पनीको यसअघि कात्तिक २६ गते सम्पन्न भएको तेस्रो वार्षिक साधारण सभाले आईपीओ जारी गर्ने मुख्य अजेन्डा पारित गरेको थियो। 

कम्पनीलाई गत असार २५ गते रेटिङ संस्था केयर नेपालले ‘केयर एनपी बीबीबी(आईएस)’ प्रदान गरेको छ। ‘केयर एनपी बीबीबी(आईएस)’ रेटिङले समयमानै  वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यस्तरको सुरक्षित कम्पनी भन्ने जनाउँदछ। 


Share this with your friends: