ज्योति लाइफको आईपीओ बाँडफाँड कहिले ?

2021-03-19
ज्योति लाइफको आईपीओ बाँडफाँड कहिले ?

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड आगामी शुक्रबार अर्थात चैत १३ गते हुने भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले यस्तो जानकारी दिएको हो। 

बैंकहरुले समयमै आवेदनहरु अपडेट गर्न र प्रमाणीकरण गर्न ढिलाई गरेकाले आईपीओ बाँडफाँडमा ढिलाई भएको क्यापिटलले जानकारी दिएको छ। यस्तै क्यापिटलले आवेदन रद्ध भएकाहरुको सूची तयार गर्न सिडिएसी सँग सहकार्य गरिरहेको र सबै प्रक्रिया पुरा भएपछि सम्भवत आगामी शुक्रबार(चैत १३ गते) आईपीओ बाँडफाँड गरिने जनाएको छ। 

ज्योति लाइफले गत फागुन २१ गतेदेखि सर्वसाधारणका लागि ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता म्युचुअल फन्डका लागि अर्काे ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी रहेको ५९ लाख ३४ हजार कित्ता भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको थियो। आईपीओको निष्कासन फागुन २६ गते बन्द गरिएको थियो। 

क्यापिटलका अनुसार यो आईपीओमा १८ लाख ४ हजार ६४८ आवेदनबाट ३ करोड ८० लाख ५७ हजार ८१० कित्ताका लागि आवेदन परेको थियो। जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो। 

 


Share this with your friends: