दोस्रो त्रैमाससम्ममा यस्तो देखियो एशियन लाइफको वित्तिय अवस्था

2022-02-13
दोस्रो त्रैमाससम्ममा यस्तो देखियो एशियन लाइफको वित्तिय अवस्था

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ३ अर्ब ३९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ८.२२ प्रतिशतले धेरै हो। गत आ.वको दोस्रो  त्रैमाससम्ममा कम्पनीले ३ अर्ब १३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १ अर्ब १ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा यो रकम ९५ करोड ७५ लाख रुपैयाँमा सीमित थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीले ७६ करोड ८४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ४२ करोड ४६ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा घटेको छ। दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनी १४ करोड ४२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा १८.०७ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले १७ करोड ६० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्ममा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ।

कम्पनीको व्यवस्थापन खर्च २४ करोड ४८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च २२ करोड ८७ लाख रुपैयाँ थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेर २९ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषको आकार २४ अर्ब ७१ करोड रुपैयाँमा सीमित थियो। अघिल्लो वर्ष ७२ करोड ३१ लाख रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ९६ करोड ३२ लाख रुपैयाँ भएको छ। 

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १४.३५ रुपैयाँ, पीई अनुपात ९०.५४ गुणा, प्रतिसेयर नेटवर्थ १५३.८१ रुपैयाँ रहेको छ ।


Share this with your friends: