नबिल बैंकले पाँचखाल र पनौतीमा उद्यमशील कर्जा प्रवाह गर्ने

2021-08-27
नबिल बैंकले पाँचखाल र पनौतीमा उद्यमशील कर्जा प्रवाह गर्ने

काठमाण्डौ । नबिल बैंकले काभ्रे जिल्लाका पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ। 

साझेदारी सम्झौतापत्रमा  पनौती नगरपालिकामा नबिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाका तर्फबाट मेयर भीम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकको बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले हस्ताक्षर गरेका छन्। उक्त साझेदारीमार्फत नगरपालिकाहरुले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीलाई नगरपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम÷तालिमहरुमा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य रहेको छ।

कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले यस सम्झौताले पनौती नगरपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने र अबको एक बर्षमा सफलताका कथाहरु सुन्न आतुर भएको बताए। 

त्यस्तै पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले नबिल बैंकको दिगो बैंकिङले निम्नवर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरे। यसका साथै उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैंकसम्म पुर्याई नगरपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गरे। 

पाँचखालमा आयोजित कार्यक्रममा उपमेयर लक्ष्मी दनुवारले पाँचखाल शाखालाई नबिल दिगो बैंकिङ पाइलट शाखा बनाएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकसँग नगर विकास र रोजगारी सिर्जनामा सँगै हातेमालँ गर्ने बताइन्। 


Share this with your friends: