नेपालमा कोरोना संक्रमणमा बढोत्तरी, बीमकलाई थपियो चुनौती

2020-10-14
नेपालमा कोरोना संक्रमणमा बढोत्तरी, बीमकलाई थपियो चुनौती

काठमाण्डौ । देशैभरि कोरोना दाबीभुक्तानीमा बढोत्तरी आएपछि नेपालका बीमा कम्पनीहरुले चुनौतीको सामना गर्नुपरेको छ। 

पछिल्ला ६ महिनामा नेपालमा कोरोना संक्रमित हुनेको संख्यामा व्यापक वृद्धि देखिएको छ। हिजोसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ। हिजोमात्रै ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

नेपालका २० वटा निजी निर्जीवन बीमा कम्पनीले अहिलेसम्म १४ लाख व्यक्तिका लागि १ लाख ४५ हजार ५७० वटा कोरोना बीमा पोलिसी जारी गरिसकेका छन्। यसबापत उनीहरुले करिब ८० करोड रुपैयाँ प्रिमियम शुल्क उठाएका छन्। 

विभिन्न बीमा कम्पनीमा अहिलेसम्म करिब ५ हजार ३१६ वटा दाबीभुक्तानीका लागि आवेदन परेका छन्। तीमध्ये ८२७ वटा आवेदकलाई ७ करोड ६४ लाख मूल्यबराबरको दाबीभुक्तानी भइसकेको छ। अब ४४८९ वटा आवेदकलाई ७१ करोड रुपैयाँ बढीको दाबीभुक्तानी गर्न बाँकी बीमा कम्पनीहरुले बताएका छन्।

दाबी भुक्तानीको तथ्यांक हेर्दा यो प्रक्रियामा ढिलाइ भइरहेको प्रष्ट हुन्छ।  जसका कारण पछिल्लो समय नेपालमा कोरोना संक्रमणको मामिला बढिरहे पनि बीमकहरुको कोरोना बीमा पोलिसी बिक्रीमा व्यापक गिरावट आइरहेको छ। यसरी गिरावट आउनुमा पछिल्लो समय दाबी भुक्तानीमा भइरहेको ढिलाइ,नियामक निकायको  आलटाले प्रवृत्ति र सरकारी निकायको अस्पष्ट नीति नै प्रमुख कारण रहेको बरुीमा विश्लेषकहरु बताउँछन्। यिनै कारणले अहिले बीमा बजारमा नकारात्मक प्रभाव परिरहेको उनीहरुको ठहर छ।

बीमकहरुले यथेष्ठ कागजातहरु र कोरोना संक्रमण पुष्टि भएको प्रमाण जुटाउनु पर्ने हुदा पनि दाबीभुक्तानीमा ढिलाइ भइरहेको जानकार बताउँछन्। 
देशमा कोरोना संक्रमण वृद्धि भएपछि नियामक निकाय बीमा समितिले गत वैशाख ७ गतेबाट सबै निर्जीवन बीमा कम्पनीहरुलाई कोरोना बीमा पोलिसी जारी गर्न निर्देशन दिएको थियो। कोरोना बीमा गर्ने(बीमित)लाई बीमांक रकममा दुई विकल्पको व्यवस्था गरिएको थियो। एक लाखको बीमा गर्नेले प्रतिव्यक्ति वार्षिक १ हजार रुपैयाँ प्रिमियम तिनुपर्ने व्यवस्था गरिएको थियो भने परिवारका हकमा वार्षिक प्रतिव्यक्ति ६ सय रुपैयाँका दरले प्रिमियम भुक्तानी गनुपर्ने व्यवस्था गरिएको थियो। 

त्यस्तै ५० हजारको बिमांकमा त्यसकै आधा अर्थात प्रतिव्यक्ति वार्षिक ५ सय र परिवारकै गर्दा प्रतिव्यक्ति ३ सय रुपैयाँका दरले प्रिमियम भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको थियो। यदी तीन सदस्य परिवारको १–१ लाखको बीमा भएको छ भने प्रतिव्यक्ति वार्षिक ६ सयका दरले प्रिमियम बुझाउनुपर्ने व्यवस्था गरिएको थियो। 

तर पछि परिस्थितिलाई मध्यनजर गर्दै गरिएको परिमार्जनपछि गत भदौ २८ गतेबाट कोरोना संक्रमण भएमा एकमुष्ट २५ हजार रुपैयाँ र अस्पताल भर्ना भई उपचार गर्नुपरेमा उपचारखर्चबापत ७५ हजार रुपैयाँसम्म पाइने गरी बीमालेखमा संशोधन गरिएको छ। 

कोरोना दाबी भुक्तानीमा अझै धेरै वृद्धि आउने अनुमान सहित बीमकहरुले यतिबेला सरकारलाई हस्तक्षेप गर्दै कोरोना संक्रमितको अस्पतालको बिल सेटल गर्न यो बीमा पोलिसीका लागि नयाँ निर्देशिका जारी गर्न माग गरेका छन्। 

 


Share this with your friends: