काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा आउँदो पुस २४ गते शुक्रबारका दिन डाकेको हो।
बैठकले संस्थाको तेस्रो वार्षिक साधारण सभा संस्थाको काभ्रे स्थीत साँगामा रहेको केन्द्रिय कार्यालयमा भिडियो कन्फ्रेन्स मार्फत आयोजना गर्ने निर्णय गरेको छ।
उक्त सभामा हाल कायम रहेको जारी पूँजीको ४० प्रतिशतले हुन आउने रकम सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ) गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यस्तै अन्य कुनै संस्था एक वा एकभन्दा बढी“घ” वर्गका इजाजतप्राप्त लघुवित्तसँग मर्ज/प्राप्ति गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न/गराउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तीलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षणको प्रतिवेदन सहितको आ.व २०७६/७७ को वासलात नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ।