युनाइटेड इन्स्योरेन्सको नाफा ३३४.९३%ले वृद्धि, अन्य सूचकको अवस्था कस्तो ?

2021-05-07
युनाइटेड इन्स्योरेन्सको नाफा ३३४.९३%ले वृद्धि, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३७ करोड ८५ लाख १६ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५३.१२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन २४ करोड ७१ लाख ९८ हजार रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ४ करोड ४३ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोही अवधिको तुलनामा ५१.६७ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा यो रकम २ करोड ९२ लाख ६९ हजार रुपैयाँमा सीमित थियो। 
त्यस्तै समीक्षा अवधिमा कम्पनीले १४ करोड ८६ लाख ७३ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम १० करोड ३४ लाख ७४ हजार रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले ४३.६८ प्रतिशत बढी खुद दाबी भुक्तानी गरेको छ। 

यो अवधिमा कम्पनीको खुद मुनाफा बढेको छ। तेस्रो त्रैमासको अन्त्यसम्म कम्पनी ५ करोड २७ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ३३४.९३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १ करोड २१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीकोे व्यवस्थापन खर्च १०.६३ प्रतिशतले बढेको छ। कम्पनीको व्यवस्थापन खर्च १४ करोड ३३ लाख २१ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको व्यवस्थापन खर्च १२ करोड ९५ लाख ५५ हजार रुपैयाँ थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार बढेर ३३ करोड ३७ लाख ३८ हजार रुपैयाँ भएको छ। यो आकार अघिल्लो वर्ष २९ करोड ६४ लाख ३७ हजार रुपैयाँको थियो । कम्पनीको जगेडा तथा कोषको आकार बढेर ११ करोड १८ लाख ७२ हजार रुपैयाँको उचाईमा पुुगेको छ । अघिल्लो वर्ष यो कोषको आकार ६ करोड ७१ लाखमा ५६ हजार रुपैयाँमा सीमित थियो । 

अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६९ हजार २८५ वटा बीमालेख जारी गरेको कम्पनीले समीक्षा अवधिको वर्षसम्ममा १ लाख ८ हजार १०८ वटा बीमालेख जारी गरेको छ। 

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ५.१३ रुपैयाँ, पीई रेसिया १३७.७७, प्रतिसेयर नेटवर्थ १४४.०१ र प्रति सेयर कुल सम्पत्तिको मूल्य २५१.२१ रुपैयाँ रहेको छ। 


Share this with your friends: