यूनाइटेड इन्स्योरेन्सले चुक्तापूँजी बढाउने, २५% हकप्रद जारी गर्ने निर्णय

2021-06-07
यूनाइटेड इन्स्योरेन्सले चुक्तापूँजी बढाउने, २५% हकप्रद जारी गर्ने निर्णय

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमीटेडले चुक्तापूँजी बढाउने भएको छ । 

यो कम्पनीको संचालक समितिमा भएको छलफलमा चुक्तापूँजी बढाउने विषयमा सहमति बनेको हो । 

एक संचालकका अनुसार हाल कायम चुक्तापूँजीलाई क्रमशः बढाउँदै लैजानुपर्ने र त्यसका लागि विभिन्न विकल्पमा जाने निर्णय भएको छ । 

ती संचालकका अनुसार यूनाइटेड इन्स्योरेन्सले कम्तीमा २५ प्रतिशत हकप्रद सेयर निश्कासनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको छ । 

यसैगरी, आगामी दिनमा लाभांश वितरण गर्दा बोनस सेयरलाई प्राथमिकता दिने निर्णय समेत भएको ती संचालकले जानकारी दिए । उनका अनुसार हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड रुपैयाँमा सीमित छ । यसलाई आगामी आर्थिक वर्षको अन्तसम्ममा २ अर्ब रुपैयाँसम्म पुर्याउनुपर्ने विषयमा समेत संचालकहरु सहमत भएका छन् । 

ती संचालकका अनुसार बीमा समितिबाट ग्रीन सिग्नल आएको खण्डमा एकैपटक ५० प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव समेत जानसक्छ । तर, एकैपटक ५० प्रतिशत हकप्रद स्वीकृत हुन नसक्ने अवस्था आएमा अहिलेलाई २५ प्रतिशत प्रस्ताव गरी त्यसपछि क्रमशः पूँजी बढाउँदै लैजाने निर्णय भएको छ । 

संचालक समितिले गरेको निर्णयअनुसार हकप्रद निश्कासनका लागि बीमा समितिको स्वीकृति मागिनेछ । 

पछिल्लो समय बीमा समितिले पुराना निर्जीवन बीमा कम्पनीहरुलाई धमाधम हकप्रद निश्कासनको अनुमति दिइरहेकोले आफूहरु समेत उत्साहित रहेको ती संचालकको भनाई छ । 

पछिल्लो समय बीमा समितिले शिखर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सलाई समेत हकप्रद निश्कासनको अनुमति दिइसकेको छ । नयाँ कम्पनी भएका कारण अजोड इन्स्योरेन्सलाई भने हकप्रद निश्कासनमा रोक लगाइएको थियो । 

यूनाइटेड इन्स्योरेन्सले उपयुक्त पार्टनर भेटिएको खण्डमा मर्जरमा जाने रणनीति समेत लिएको संचालकहरु बताउँछन् । यसअघि केही कम्पनीसँग यसका लागि कुराकानी पनि भएको थियो । तर, सेयर स्वाप रेसियो र संचालक समितिमा प्रतिनिधित्वको विषयमा सहमति हुन सकेको थिएन । शिखर इन्स्योरेन्सले पनि यूनाइटेडसँग मर्जरको प्रयास गरेको थियो, तर चौधरी ग्रुपको ठूलो लगानी रहेको यूनाइटेडको संचालक समितिमा उनीहरुले आफ्नो अनुकुलको टिम खोजेपछि छलफल निश्कर्षमा पुग्न सकेको थिएन । 


Share this with your friends: