लुम्बिनी विकास बैंकले डाक्यो वार्षिक साधारण सभा

2020-12-20
लुम्बिनी विकास बैंकले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १३ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो पुस २६ गते आइतबारका दिन काठमाण्डौ स्थित बैंकको केन्द्रिय कार्यालयमा नेपाल सरकारले निर्धारण गरेको सिमाभित्र रहि र अनलाइन(भर्चुअल) माध्यमबाट समेत सभा आयोजना गर्ने निर्णय गरेको छ। 

उक्त सभामा आर्थिक वर्ष २०७६÷७७ का लागि प्रस्ताव गरिएको कुल १० प्रतिशत लाभांस वितरणको विशेष प्रस्ताव पारित गरिनेछ। बैंकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजीको ७ प्रतिशतले हुन आउने १९ करोड १ लाख ४१ हजार ८२१ रुपैयाँ बराबरको बोनस सेयर र ३ प्रतिशतले हुन आउने ८ करोड १४ लाख ८९ हजार ३५१.८६ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि समेत) रहेका छन्। 

सभामा बैंकको जारी तथा चुक्तापूँजी २ अर्ब ७१ करोड ६३ लाख ११ हजार ७२८.५५ रुपैयाँ रहेकोमा बोनस सेयर पश्चात वृद्धि गरी २ अर्ब ९० करोड ६४ लाख ५३ हजार ५४९.५५ रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गरिनेछ।

यसका साथै सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थामा गाभ्ने/गाभिने वा प्राप्तिका सम्बन्धी उपयुक्त प्रस्ताव आएमा  यस सम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

यसैगरी सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तसम्मको वासलात नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ। सभामा आर्थिक वर्ष २०७७÷७८ का लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 
बैंकले वार्षिक साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि आउँदो पुस १४ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।  

 


Share this with your friends: