सर्भेयर र अभिकर्ताको लाइसेन्स अनलाइनबाटै नविकरण गर्न सकिने व्यवस्थाको सुरुवात,यस्तो छ प्रक्रिया

2022-03-22
सर्भेयर र अभिकर्ताको लाइसेन्स अनलाइनबाटै नविकरण गर्न सकिने व्यवस्थाको सुरुवात,यस्तो छ प्रक्रिया

काठमाण्डौ । अब बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ । बीमा समितिले आज बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने व्यवस्थाको शुरुवात गरेको हो । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले यो व्यवस्थाको शुभारम्भ गरेका हुन् ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त संस्था नेपाल क्लियरिङ हाउस लिमिटेडको कनेक्ट आइपीएस मार्फत डिजिटल माध्यमबाट इजाजतपत्र नवीकरणका लागि लाग्ने दस्तूर बीमा समितिको खातामा बुझाएर बीमा सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न सकिनेछ ।

यसअन्तर्गत अब समितिलाई गरिने वार्षिक इजाजतपत्र नवीकरणको भुक्तानीका निम्ति काउन्टरमा लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने अनलाइनबाट नै एनसीएचएलको कनेक्टआईपीएस र मोबाइल एप तथा कर्पोरेटपे प्रणालीहरुमार्फत आफ्नो बैंक तथा वित्तीय संस्थाको खाताबाट भुक्तानी गर्न सकिने भएको छ। 

विद्युतीय माध्यमबाट नवीकरण शुल्कलगायतका भुक्तानीसम्बन्धी कारोबारहरु नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट गर्न केही समयअघि बीमा समितिले एनसीएचएलसँग नेशनल पेमेन्ट स्विचअन्तर्गतको नेसनल पेमेन्ट इन्टरफेससँग जोडिने सम्झौता भएको थियो। 

उक्त सम्झौताअनुरुप पहिलो चरणमा अभिकर्ता तथा सर्भेयरको इजाजत पत्र नवीकरणको भुक्तानी सेवा अनलाइनबाट गर्न सकिने भएको छ भने पछिल्लो चरणमा समितिका सेवा शुल्क, बीमा कम्पनी दर्ता तथा वार्षिक नवीकरण शुल्क, बीमा सभेर्यर तथा अभिकर्ता दर्ता, प्रमाणपत्र तथा तालिम शुल्क, तलब, भेण्डर भुक्तानी लगायतका विभिन्न कारोबारहरु बैंक खाताहरुबाट सोझै गर्न सक्ने गरी कार्य अघि बढाइएको छ। 

एनसीएचएलमा आबद्ध भुक्तानी सेवा प्रदायकका वालेटबाट समेत उक्त भुक्तानी गर्न मिल्ने गरी नेसनल पेमेन्ट स्विचअन्तर्गतको बिलर गेटवेमा जोडिने कार्यसमेत हुँदैछ। यसले समितिका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुनेछ।

अभिकर्ता तथा सर्भेयरको इजाजत पत्र नवीकरण भुक्तानीका लागि प्रयोगकर्ताले कनेक्टआईपीएस वा मोबाइल एपमा लग–इन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी प्रणालीमा रहेको 'Government of Nepal' अन्तर्गत “Semi-Government/Sansthan” भित्र “Beema Samiti” छनोट गर्नुपर्ने हुन्छ। त्यसपछि आफ्नो भुक्तानी आवश्यकताअनुरुप “Agent Payment” वा “Surveyor Payment” छनोट गर्ने, भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी “Agent Payment” का निम्ति Licence Number, Issue Date, Type of Agent  र Issuer Name को विवरण दाखिला गरी आफ्नो Transaction Password/OTP प्रयोग गरी बैंक तथा वित्तीय संस्थाको खाताबाटै सजिलै भुक्तानी गर्न सकिन्छ। 

त्यसैगरी “Surveyor Payment” का निम्ती Surveyor Code, License Issue Date र Type of Surveyor को विवरण दाखिला गर्नुपर्ने हुन्छ। CORPORATEPAY प्रणाली प्रयोग गर्ने बीमा कम्पनी वा निकायले समेत आफ्नो युजर लग–इन गरी Real-Time Payment अन्तर्गत Government Payment भित्र Beema Samiti छनोट गरी भुक्तानी गर्न सक्दछन्। 

२०४९ देखि बीमा व्यवसायलाई व्यवस्थित, नियमित, विकास र नियमन गर्दै आइरहेको बीमा समितिको डिजिटलाइजेनको यस कदमले समितिको सेवा प्रवाहमा उल्लेख्य योगदान पुर्याउने विश्वासका साथै यसलाई डिजिटल भुक्तानीको क्षेत्रमा एक महत्वपूर्ण कोषे ढुंगाका रुपमा लिइएको छ। 

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसका रुपमा विकास गरिएको एनपीआई सञ्चालनमा रहेको छ। जसमा हाल ६० सदस्य बैंक तथा वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पीएसपी/पीएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरुलगायतका ८७ गैरबैंकिङ संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन्। 

एनसीएचएलले नेपाल सरकारका संस्थानहरु, नियामक निकायहरुलगायतका विभिन्न निकाय तथा संस्थाहरुको डिजिटल भुक्तानीका नीति कार्यान्वयनमा प्रमुख भूमिका खेल्दै आएको छ। 


Share this with your friends: