सातै प्रदेशमा ई–बीमा स्टार्टअप एन्ड आइडिया फेस्ट हुने

2022-03-29
सातै प्रदेशमा ई–बीमा स्टार्टअप एन्ड आइडिया फेस्ट हुने

काठमाण्डौ । लिभिङ विथ आईसीटीले सातै प्रदेशमा इबिमाले मुख्य प्रायोजन गरेको ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२२’ कार्यक्रम आयोजना गर्ने भएको छ। 

डिजिटल क्षेत्रमा क्रियाशील स्थानीय नवप्रवर्द्धकहरुलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको हो। यही चैत १८ गते गण्डकी प्रदेशबाट सुरु हुने कार्यक्रम २०७९ जेठ दोस्रो साता बागमती प्रदेशमा समापन हुनेछ। 

चैत १८ गते गण्डकी प्रदेशको पोखराबाट कार्यक्रमको सुरुआत हुदैछ भने जेठ दोस्रो हप्ता बागमती प्रदेशको चितवनमा कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ। पहिलो चरणमा पोखरापश्चात चैत २३ गते बुटवल, चैत २७ गते बिरगञ्ज र वैशाख २ गते विराटनगरमा कार्यक्रम आयोजना हुनेछ। दोस्रो चरणमा सुदूपश्चिम, कर्णाली र बागमतीमा कार्यक्रम आयोजना हुनेछ। 

यस कार्यक्रममा स्थानीय स्टार्टअप तथा विद्यार्थीका इन्नोभेटिभ आइडिया तथा प्रोजेक्टहरुलाई प्रदर्शनीमा राखिनेछ। सहभागीहरुले आफ्नो आइडिया वा प्रोजेक्टको बारेमा विज्ञ छनौट समितिको सहभागितमा प्रस्तुति दिनेछन्। उनीहरुले आईटी क्षेत्रका सफल स्थानीय तथा केन्द्रका उद्यमीहरुबाट मेन्टरिङ सेसनमा पनि सहभागी हुने अवसर प्राप्त गर्नेछन्। 

आयोजकले हरेक प्रदेशबाट उत्कृष्ट ५ स्टार्टअप तथा आइडिया छनौट गरी काठमाण्डौमा बिजनेस इन्क्युवेसनमा सहभागी गराउने जनाएको छ। छनौट भएका स्टार्टहरुले बैंकले उपलब्ध गराउने सहुलियतपुर्ण ऋण सुविधा र लगानीका लागि अवसर प्राप्त गर्नेछन्। 

स्टार्टअपहरुले आवश्यक प्रविधि, कानुनी सहायता र व्यापार प्रवर्द्धनका लागि निःशुल्क परामर्श तथा विभिन्न अवसरहरु प्राप्त गर्ने आयोजकले जनाएको छ। 

हरेक प्रदेशका उत्कृष्ट १ लाई आईसीटी अवार्ड २०२२ को ग्रान्ड फिनालेमा सम्मान पनि गरिने बताइएको छ।

हरेक प्रदेशको कार्यक्रममा कम्तीमा ३० बढी स्टार्टअपहरुको सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रममा प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवालाहरुको उपस्थितिमा डिजिटल रुपान्तरणमा प्रदेश विषयमा विशेष अन्तर्क्रिया तथा डिजिटल संवाद कार्यक्रम पनि आयोजना हुनेछ। बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म विभिन्न सेसन र प्रदर्शनी कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ। 

स्टार्टअपहरुले निःशुल्क सहभागी हुने अवसर प्राप्त गर्नेछन् भने कार्यक्रममा अवलोकन तथा सहभागिताके लागि पनि प्रवेश निःशुल्क गरिएको छ। 

कार्यक्रममा इबिमा, राष्ट्रिय वाणिज्य बैंक, निमा एकेडेमी, सफ्टवेरिका कलेज, एसीसीए, ब्रोडवे इन्फोसिस, सीएसआईटी एसोसिएसनलगायतको सहकार्य तथा सहयोग रहेको छ। 

यसैगरी सोही दिन आयोजना हुने प्रादेशिक डिजिटल संवाद कार्यक्रममा हुवावे, इन्फोडेभलपर्स, नेपाल दूरसञ्चार प्राधिकरणलगायत प्रदेश सरकारहरुको सहकार्य रहेको छ। डिजिटल संवाद कार्यक्रम प्रदेश सरकार, स्थानीय सरकार, सरोकारवाला र निजी क्षेत्रको उपस्थितिमा विशेष अन्तकृयात्मक रुपमा सञ्चालन हुनेछ। 

पछिल्लो समय अध्ययनपश्चात आफ्नै क्षेत्रमा केही नयाँ तथा इन्नोभेटिभ काम गर्ने युवाहरुको उल्लेख्य रुपमा वृद्धि भए पनि आवश्यक मेन्टरिङ, इन्क्युवेसन र लगानीको अभावमा धेरै स्टार्टअपहरु पलायन भइरहेको अवस्थालाई मध्यनजर गर्दै लिभिङ विथ आईसीटीले देशव्यापी रुपमा कार्यक्रम आयोजना गर्न लागिरहेको संयोजक राजन लम्सालले बताए। ‘स्थानीय स्तरमा कोभिड १९ को कारण धेरै स्टार्टअपहरु बन्द पनि भएका छन्’, लम्सालले भने, ‘अब सरकार र निजी क्षेत्र सहकार्य गर्दै डिजिटल उद्यमशिलता र इन्नोभेसनको विकासमा लाग्नुपर्छ।’


Share this with your friends: